शङ्कर घोषलाई अस्पतालबाट छुट्टी

सिलगढ़ीका भाजपा विधायक शङ्कर घोषलाई अस्पतालबाट छुट्टी दिइएको छ। गत सोमवार नगराकट्टामा राहत वितरण गर्न पुगेका बेला तिनी साथै उत्तर मालदाका भाजपा सांसद खगेन मुर्मू जनआक्रोशको शिकार बनेका थिए। घटनाको दुई दिनपछि बुधवार दिउँसो शङ्कर घोष घर फर्किए। तिनको दाहिने हातको लिगामेण्टमा चोट लागेको छ र तिनलाई अझ केही दिनसम्म औषधी खानु पर्नेछ। तर खगेन मुर्मू अझै पनि अस्पतालमै उपचाराधीन छन्। तिनको स्वास्थ्य अवस्था पहिलेभन्दा धेरै स्थिर भए पनि तिनलाई अझ पन्ध्र दिनसम्म बोल्न नदिने सल्लाह दिइएको छ। अवस्था पूर्ण रूपमा स्थिर भएपछि शल्यक्रिया गरिनेछ।
अस्पतालबाट छुट्टी पाएपछि शङ्करले भने, मेरो दाहिने हातको लिगामेण्टमा अझै पनि चोट छ। तर पहिलेभन्दा केही राम्रो छु। अहिले घर फर्कँदैछु। तर त्यो घटना योजनाबद्ध थियो। हामी राहत वितरण गर्न गएका थियौँ। त्यति बेला कुनै समस्या थिएन। अचानक केही मानिसहरू आएर दिदी-दिदी भन्दै हामीमाथि आक्रमण गरे अनि त्यस्तो स्थिति उत्पन्न भयो। तर म लड़िरहनेछु। जब बाँचेर फर्किएको छु, तब लड्नेछु। मैले पुलिसलाई भने पनि तिनीहरूले कुनै सहयोग गरेनन्।
उता उत्तर मालदाका भाजपा सांसद खगेन मुर्मू अझै पनि अस्पतालमै उपचाराधीन छन्। आज सांसदलाई हेर्न केन्द्रीय शिक्षा राज्य मन्त्री सुकान्त मजुमदार अस्पताल आइपुगे। मुख्यमन्त्रीप्रति आक्रोश व्यक्त गर्दै बालुरघाटका सांसदले भने, यो सबै दिदीका सिपाहीहरूले गरेका हुन्। यो त राजनीतिक आक्रमण हो। यदि पुलिसले अपराधीलाई पक्राउ नगरे बङ्गाल भाजपाले तिनीहरूको तस्वीरसहित ठूला पोस्टर सिलगढ़ी र जलपाइगढ़ीमा टाँस्नेछ। यदि पुलिसले कुनै कदम नउठाए भाजपाले बीजेपीको शैलीमा कारवाही गर्नेछ।

By Piyali Poddar