आर्यनलाई छुटाउन सघाउने वकिलहरूसँग शाहरूख खानले बाँडे खुसी

बलिउड अभिनेता शाहरूख खानका छोरा आर्यन बिहीबार जमानतमा रिहा भएका छन्। बम्बई उच्च अदालतले उनलाई बिहीबार जमानतमा रिहा गर्ने आदेश दिएको हो।

लागुपदार्थ मुद्दामा पक्राउ परेका उनी २० दिनदेखि मुम्बईको आर्थर जेलमा थिए। यसअघि दुईपटकसम्म आर्यनको जमानत अपिल खारेज भएको थियो। यसपालि उनको तर्फबाट भारतका चर्चित वकिल तथा पूर्व महान्यायाधिवक्ता मुकुल रोहतगीले बहस गरेका थिए।

आर्यन छुटेकै साँझ उनको पक्षमा लडेका वकिलहरूको टोलीसँग शाहरूख खानको सामूहिक तस्बिर सार्वजनिक भएको छ।

एउटा फोटोमा शाहरूख वकिलहरूसँग उभिएर मुस्कुराएर पोज दिएका छन्। फोटोमा उनकी म्यानेजर पूजा डडलानी पनि देखिएकी छन्। अर्को फोटोमा शाहरूख वकिलहरूको टोलीका साथै अरू केहीसँग देखिएका छन्। 

वकिल सतिश मनेशिन्डे र उनको टोली आर्यनलाई जमानत दिलाउन लगातार तीन सातादेखि काम गरिरहेका भारतीय सञ्चारमाध्यम एनडिटिभीले जनाएको छ। बिहीबार बल्ल उनीहरू सफल भएका थिए।

‘अदालतको आदेशपछि शाहरूख खान खुसी भए। उनको लडाइँले आखिरमा सन्तोकको नतिजा दियो,’ सतिशका भनाइ उद्धृत गर्दै एनडिटिभीले लेखेको छ। उनले आर्यनलाई पक्राउ गर्नु गैरकानुनी भएको र उनीबाट कुनै लागुपदार्थ बरामद नभएको पनि बताएका छन्।

नार्कोटिक्स कन्ट्रोल ब्यूरो (एनसिबी) ले ३ अक्टोबरमा मुम्बईबाट गोवा जाँदै गरेको एउटा समुद्री जहाजबाट आर्यनसहित आठ जनालाई पक्राउ गरेको थियो। 

Leave a Reply

Your email address will not be published. Required fields are marked *