नयाँ रूप लिँदै सेवकेश्वरी काली मन्दिर

शताब्दीऔँ पुरानो सेवकेश्वरी कालीबाड़ी मन्दिरले नयाँ रूप लिँदैछ। केवल पूजा–पाठको स्थल मात्र नभएर यस काली मन्दिरलाई सेवोक क्षेत्रकै एक प्रमुख पर्यटन गन्तव्यको रूपमा पनि चिनिन्छ। सिलगढ़ी, जलपाइगढ़ीसहित टाढ़ा-टाढ़ादेखि पनि दिनहुँ धेरै श्रद्धालुहरू मन्दिर दर्शन गर्न आउँछन्। अहिले मन्दिर व्यवस्थापन समितिले 50 लाख रुपियाँ खर्च गरेर मन्दिरको जीर्णोद्धार कार्य आरम्भ गरेको छ। आगामी दिन मन्दिरमा लिफ्ट वा एस्केलेटर जड़ान गर्ने योजना पनि रहेको व्यवस्थापन समितिले जनाएको छ।
सेवकेश्वरी काली मन्दिर व्यवस्थापन समितिका सचिव सुव्रत साहाले भने, यो ऐतिहासिक मन्दिर हो तर यसको संरक्षण राम्ररी भएको थिएन। पानी पर्दा पानी चुहुन्थ्यो। थुप्रै संरचनाहरू जर्जर भइसकेका थिए। विश्रामगृहको अवस्था पनि राम्रो थिएन। त्यसैले मन्दिरको जीर्णोद्धार कार्य आरम्भ गरिएको हो। पहिलो चरणका लागि 50 लाख रुपियाँको बजेट छुट्याइएको छ। कोरोनेशन ब्रिजजस्तै सेवकेश्वरी काली मन्दिर पनि पर्यटकहरूलाई आकर्षणको केन्द्र हो। तर लामो समयदेखि मन्दिरको उचित संरक्षण नभएको गुनासो आइरहेको थियो। मन्दिरमा विश्रामगृह, शौचालय, पिउने पानीको व्यवस्था पनि सन्तोषजनक थिएन। पूजा गर्न आउने श्रद्धालुहरू बस्नसमेत नपाउने अवस्था थियो। मन्दिरमा दिनहुँ धेरै दान सङ्कलन भइरहेको साथै कैयन् भक्तजनले मन्दिरको विकासका लागि आर्थिक सहयोग गरे पनि स्थिति जस्ताको तस्तै रहँदा प्रश्न पनि उठिरहेको थियो।
तर अहिले मन्दिरको जीर्णोद्धार कार्य आरम्भ भएको छ। मन्दिरमाथि टाढ़ैबाट देख्न सकिने ठूलो गुम्बज बनाइँदैछ। साथै मन्दिर र वरपरको क्षेत्रमा फलामको संरचना बनाएर टिनको छाना लगाउने पनि कार्य भइरहेको छ। मन्दिर समितिका सचिवले भने, मन्दिरका सिँढ़ीहरू स्टिलको फ्रेमले घेरिनेछ। यहाँ 107 सिँढ़ी चढ्नुपर्छ। त्यसैले धेरै वृद्ध-वृद्धा श्रद्धालुहरूले मन्दिर पुगेर दर्शन गर्न सक्दैनन्। यसकारण भविष्यमा लिफ्ट वा एस्केलेटर जड़ान गर्ने योजना पनि बनाइरहेका छौँ।

By Piyali Poddar