सिलगढ़ी नगरनिगमले शहरलाई गतिशील बनाउँदै ट्राफिक जामको समस्या कम्ती गर्न तथा हिलकार्ट रोड र सेभोक रोडमा वाहनहरूको चाप घटाउन महानन्दाको किनारै–किनार वैकल्पिक सड़क बनाउन चाहन्छ। यस परियोजनाको सम्भावना अध्ययन गर्न रेल इण्डिया टेक्निकल एण्ड इकोनोमिक सर्भिस(आरआईटीईएस)लाई जिम्मा दिइएको थियो। अध्ययन पूरा भएपछि पछिल्लो नगर निगमको बोर्ड बैठकमा प्रतिवेदन प्रस्तुत गरियो। बोर्डको अनुमति पाएपछि उक्त योजना राज्य सरकार तथा नगर विकास विभागलाई पठाइनेछ। यस परियोजनाका लागि अनुमानित लागत लगभग 161 करोड़ रुपियाँ लाग्नेछ। नगर निगमले नगर विकास विभागबाट आर्थिक सहयोग प्राप्त गरे मात्र यो परियोजना सम्भव हुने ठानिएको छ। यद्यपि प्रतिपक्षी दलको भनाइमा वर्तमान नगर बोर्डले यो परियोजना कार्यान्वयन गर्ने सम्भावना न्यून छ। आरआईटीईएसको अध्ययनअनुसार, महानन्दाको दुवै किनारमा सड़क निर्माण र हिलकार्ट रोड तथा सेभोक रोडलाई जोड्ने पुल निर्माणको सम्भाव्यतामा प्रतिवेदन तयार गरिएको छ। तर नगर निगम अधिकारीहरू अहिले महानन्दाको देब्रे किनारमा मात्र सड़क निर्माण गर्ने योजनामा छन्। यस सड़कलाई नदीको अर्को किनारसित जोड्न बीचमा एउटा पुल बनाउने सोच छ जसबाट साना गाड़ी तथा मोटरसाइकलहरू यातायात गर्न सक्नेछन्।
मेयर गौतम देवले भने, नगर तथा नगर विकास विभागलाई योजना पठाइँदैछ। आरआईटीईएसद्वारा सम्भाव्यता प्रतिवेदन तयार भइसकेको छ। राज्य सरकारले स्वीकृति दिएपछि हामी यो काम अघि बढ़ाउनेछौँ। प्रशासनिक सूत्रहरूअनुसार, सिलगढ़ीमा वाहनहरूको सङ्ख्यामा वार्षिक झण्डै 200 प्रतिशत वृद्धिदर देखिएको छ। हिलकार्ट रोड र सेभोक रोडमा वाहनको चाप अत्यधिक रहेको छ। तर पर्याप्त सड़कको अभावले गर्दा शहरको गति निकै सुस्त भएको छ। हाल ती सड़कहरूमा वाहनको औसत गति प्रति घण्टा 10 किलोमिटरभन्दा कम्ती छ।
तर प्रस्तावित सड़क निर्माण सम्भव छ वा छैन भन्ने विषयमा विपक्षीहरूले आशङ्का व्यक्त गरेका छन्।
भाजपा नेता अमित जैनले भने, मेयरले धेरै सपना देखाइरहेका छन्। तर वास्तविकतामा केही भइरहेको छैन। तीन वर्ष बितिसक्यो अझै सेवा प्रवाहमा सुधार देखिएको छैन। सीपीएम नेता मुन्सी नुरुल इस्लामले भने, नगर निगम बोर्डले मुखले भनेको काम गर्न सकिरहेको छैन। सानो सड़क मरम्मतीसमेत हुन सकेको छैन। प्रस्तावित सड़क राम्रो हुने थियो। तर यो बोर्ड रहुञ्जेल सम्भव छैन। अध्ययनमा मात्रै बजेट खेर जानेछ। तर 10 नम्बर वार्डका काउन्सिलर तथा मेयर पार्षद कमल अग्रवालले भने, शहरवासीलाई राम्रो सेवा दिनकै लागि मेयरले यो योजना ल्याएका हुन्। भविष्यमै पनि शहरवासी लाभान्वित हुनेछन्।