सलमान खानको रोकिएको नेपाल टुर वैशाख ३ गते हुने

बलिउड सुपरस्टार सलमान खानको केही वर्ष  अगाडि रोकिएको नेपाल कन्सर्ट वैशाख ३ गते हुने भएको छ । यसका लागि  सलमानसहित बलिउड कलाकारहरु नेपाल आउने पक्का भएको छ ।
 
लाजिम्पाटमा रहेको ओडीसी इन्टरटेन्मेन्टले  सलमानलाई नेपाल ल्याउन लागेको हो । केही वर्षअघि पनि सलमानलाई नेपाल  ल्याउनका लागि ओडीसीले रकम समेत भारत पठाइसकेको थियो । तर तत्कालीन समयमा  भूमिगत रहेको नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले कार्यक्रम नगर्न  धम्की दिएपछि आयोजकले अन्तिम समयमा सलमानको टुर रद्द गरेको थियो ।
सलमानसँग भएको कुराकानीमा पैसा फिर्ता दिन  भन्दा पनि कार्यक्रम नै गर्ने सहमति भएको आयोजकले बताएको छ । वैशाख ३ गते  काठमाडौंको दशरथ रंगाशालामा सलमानको भव्य कन्सर्ट आयोजना हुने बताइएको छ ।  उनको साथमा बलिउड अभिनेत्री सोनाक्षी सिन्हा, कोरियोग्राफर एवं निर्देशक  प्रभु देवा, अभिनेत्री ज्याकलिन फर्नान्डेज, कार्यक्रम होस्ट मनिष पल,  कलाकार आयुश शर्मा, गायक गुरु रन्धावा लगायतको टोली नेपाल आउनेछ ।
 यसअघि सलमानका भाइ सोहिल खान नेपाल आएर  सुरक्षा र सलमान बस्ने होटलको विषयमा जानकारी लिएर गएका थिए । आयोजकले  सलमानको टुरले कोरोना महामारीका कारण सुस्ताएको नेपालको पर्यटन व्यवसायलाई  थोरै भएपनि राहत दिने विश्वास लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *