भगवान बुद्धका पवित्र अवशेष भियतनाम ल्याउँदा करोड़ौँ श्रद्धालुहरूद्वारा प्रार्थना

यूएन वेसक डे समारोहको अवसरमा भगवान बुद्धका पवित्र अवशेष सार्वजनिक दर्शन र पूजा-अर्चनाका लागि भियतनाम ल्याइएको छ। यी अवशेष मूलतः भारतको उत्तर प्रदेशस्थित सारनाथको एउटा विहारमा प्रतिष्ठित थिए जसलाई विशेष भारतीय वायु सेनाको विमानमार्फत बिहीवार भियतनाम ल्याइएको हो। प्रदर्शनी 2 मईदेखि 21 मई 2025 सम्म चल्नेछ। यी पवित्र अवशेषको साथ आएका भारतीय प्रतिनिधि मण्डलको नेतृत्व भारत सरकारका संसदीय मामिला तथा अल्प सङ्ख्यक मामिलाका मन्त्री श्री किरेन रिजिजूले गरेका थिए। प्रतिनिधि मण्डलमा आन्ध्र प्रदेशका पर्यटन, संस्कृति तथा चलचित्र विभागका मन्त्री श्री कन्दुला दुर्गेश र अन्य सरकारी अधिकारीहरू पनि सहभागी थिए। अवशेष र प्रतिनिधि मण्डलको आगमनमा भियतनाममा भव्य र श्रद्धायुक्त स्वागत गरियो।
मन्त्री रिजिजूले सामाजिक सञ्जालमार्फत आफ्नो अनुभूति व्यक्त गर्दै लेखेका छन्, “भगवान बुद्धका पवित्र अवशेषहरू भियतनाम ल्याउने प्रतिनिधि मण्डलको नेतृत्व गर्न पाउँदा आत्मालाई छोएको एक पवित्र अनुभव हो।” तिनले थप लेखेका छन्, “पूज्य भिक्षुहरू, श्री कन्दुला दुर्गेशजी तथा अधिकारीहरूसित शान्ति, करुणा र समरसताको यस पवित्र यात्रामा सामेल हुन पाउँदा गर्व लागेको छ।”
यी पवित्र अवशेषहरू भियतनामका विभिन्न प्रमुख स्थानहरूमा श्रद्धासाथ प्रदर्शनी गरिनेछ जहाँ बौद्ध भिक्षुहरू र स्थानीय श्रद्धालुहरूले पूजा र श्रद्धा अर्पण गर्नेछन्। प्रदर्शनी मई 2 देखि 8 सम्म हो ची मिन्ह सिटीको हान ताम पगोड़ाबाट आरम्भ हुनेछ। त्यसपछि 9 मईदेखि 13 मईसम्म ते निन्ह प्रान्तको बा डेन पर्वतमा हुनेछ। 14 मईदेखि 18 मईसम्म हनोईको कुआन सु पगोड़ामा राखिनेछ। अन्ततः 18 मईदेखि 21 मईसम्म हा नाम प्रान्तको ताम चुक पगोड़ामा सम्पन्न हुनेछ जहाँ करोड़ौँ श्रद्धालुहरूको सहभागिता अपेक्षित गरिएको छ।
यस आध्यात्मिक पहलले भारत र भियतनामबीच धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप दह्रो बनाउने अर्को महत्त्वपूर्ण कदम भएको छ। भियतनामी सरकारले भारतलाई यी पवित्र अवशेषहरू साझा गरेकोमा गहिरो कृतज्ञता प्रकट गरेको छ। ध्यान दिनुपर्ने कुरा के हो भने यसअघि मार्च 2024 मा थाइल्याण्डमा यस्तै प्रदर्शनी आयोजना गरिएको थियो जहाँ अवशेषहरू 26 दिनसम्म प्रदर्शनमा राखिएको थियो अनि करोड़ौं दर्शनार्थीहरूले दर्शन गरेका थिए।

By Business Bureau