सिलगढ़ी नगरनिगमले एउटा अविश्वासनीय योजना बनाइरहेको जान्नमा आएको छ। मुख्यमन्त्री ममता ब्यानर्जीको निर्देशअनुसार यस योजनाका लागि बागवानी विभागका सचिव स्तरका अधिकारीहरूले मेयर गौतम देवसित छलफल गरेका छन्। महानन्दाको किनारलाई एक समय खुल्ला शौचालय क्षेत्र मानिन्थ्यो। तर हाल नगरनिगमले गरेको सुन्दरीकरणको कारण दृश्य केही सुध्रिएको छ। यद्यपि केही स्थानमा अझै फोहोर देखिन्छ जसले गर्दा त्यहाँ नाक थुनेर हिँड्नुपर्ने स्थिति आउँछ। डम्पिङ ग्राउण्डको अवस्था अझै दयनीय छ जहाँ दुर्गन्धको कारण हिँड्न मात्र होइन गाड़ी चलाउँदा पनि सास थुनेर क्षेत्र पार गर्नुपर्छ। तर नगरनिगमको यस सोचले त्यो अवस्था समाप्त गर्न सक्छ। नगरनिगम सूत्रअनुसार ती दुई क्षेत्रमा रहेका खाली जमीनमा फूलको बगैँचा बनाइनेछ। डम्पिङ ग्राउण्ड र महानन्दाको लालमोहन मौलिक निरञ्जन घाटदेखि नदी किनारको नौका घाटसम्म गुलाबको बगैँचा बनाउने योजना छ। मुख्यमन्त्रीको निर्देशनमा, बुधवार मेयर गौतम देव र बागवानी विभागका अधिकारीहरूको बैठक भयो। त्यस बैठकमा 23 र 42 नम्बर वार्डहित अन्य खाली जमीनमा फूल खेती गर्ने निर्णय गरियो।
डम्पिङ ग्राउण्डमा गुलाब बगैँचाको योजना लामो समयदेखि चलिरहेको छ। हाल कलकत्ता महानगर विकास प्राधिकरण (केएमडीए) को पहलमा डम्पिङ ग्राउण्डको फोहोरबाट मल तयार गर्ने प्रक्रिया आरम्भ भइसकेको छ। डम्पिङ ग्राउण्डबाट वर्षौँको फोहोर हटाउन सफल भएपछि अब त्यहाँ खाली जमीनमा गुलाब बगैँचा निर्माणको प्रक्रिया आरम्भ गरिनेछ। मुख्यमन्त्रीको चाहना छ कि सिलगढ़ीमा बागवानी विभागको पहलमा विभिन्न स्थानमा सुन्दरीकरण गरियोस्। त्यसअनुसार, नगरनिगम प्रयोगविहीन स्थानमा फूल खेती गर्ने निर्णय लिइएको छ। अब महानन्दाको किनार पनि फूल बगैँचाको सूचीमा समावेश गरिएको छ।
बैठकपछि मेयरले भने, बागवानी विभागका अधिकारीहरूसित कुराकानी भयो। मुख्यमन्त्रीले तिनीहरूलाई मसित छलफल गर्न भनेकी थिई। हाम्रै धेरै खाली जमीन छ जहाँ फलफूल र फूलका बिरुवा लगाइनेछ। हामी श्रमिक उपलब्ध गराउँछौँ तर बाँकी काम बागवानी विभागले गर्नेछ। हामी खाद्य प्रशोधनमा पनि काम गर्नेछौँ। हाल डम्पिङ ग्राउण्डमा 2-3 बिघा जमीनमा फूल बगैँचा बनाउने योजना बनाइएको छ। महानन्दाको किनारै किनार नौका घाटसम्म पनि फूल खेती गरिनेछ। गौतमले भने, हामीलाई त्यहाँका वैज्ञानिक र विशेषज्ञको सहयोग प्राप्त हुनेछ। नवगरनिगमको यो योजना कागजमै सीमित रहने हो वा गुलाबसहित रङ्गीबिरङ्गी फूलहरूले वास्तविक जमीनमा फुलेको देख्न पाइन्छ भनेर अब हेर्न बाँकी छ।