वर्षापछि राङभाङ सड़कको बेहाल आवस्था

बिहीवार दिनभरि परेको वर्षाले मिरिक थर्बु चियाबारी कारखानामुनि चेक पोष्टबाट राङभाङ विष्णुधाम पर्यटन केन्द्रसम्म जाने सड़कको अवस्था बेहाल बनेको छ। यो सड़क प्रधानमन्त्री ग्राम सड़क योजनामार्फत निर्माण गरिएको हो। मरम्मतीको अभावमा यो सड़क जीर्ण रहेको थियो भने वर्षापछि जताततै पानी जमेर हिलाम्मे बनेको सड़कमा गाड़ी कुदाउन सकिने स्थिति छैन। यस्तो स्थितिमा चालकहरूलाई समस्या भइरहेको छ। सड़कमा जतासुकै ढुङ्गाको सोलिङ उप्किएको अनि खाल्डाहरू भएको कारण पानी परेपछि सड़क बेहाल बनेको हो।

अहिले यातायातमा समस्या देखा परेको छ भने कुनै पनि समय वाहन दुर्घटनाको सम्भावना बढ़ेको छ। उक्त सडक भएर राङभाङ विष्णुधाम पर्यटन केन्द्र हुँदै नागरी, धजे,पोख्रेबुङ आदि ठाउँ जाने वाहनहरूलाई धेरै समस्या भएको छ। स्थानीय मानिसहरूले बर्खा याममा यस सड़कमा गाड़ी चलाउन अति गाह्रो पर्ने बताएका छन।

सड़कको जीर्ण अवस्थाको कारण कतिपय पर्यटकहरू गोपाल फाटकको घुमौरो सड़क भएर राङभाङ पुगिरहेका छन्। सड़क अव्यवस्थित बनेपछि राङभाङ पर्यटन केन्द्रको पर्यटन उद्योग प्रभावित बनेको छ। उक्त क्षेत्रमा हाल धेरै होमस्टेहरू सञ्चालनमा रहे पनि पर्यटकहरूलाई त्यहाँ पुग्न चरम सङ्कट भइरहेको छ। सम्बन्धित निकायले जीर्ण सड़कको शीघ्र मरम्मती गरेर व्यवस्थित गरिदिने भुक्तभोगीहरूले माग गरेका छन्।

By Piyali Poddar