सौरवको बायोपिकमा रणवीर कपूर

क्रिकेटर सचिन तेन्दुलकर, महेन्द्र सिंह धोनी र मोहम्मद अजरुद्दीन पछि अर्को क्रिकेटर सौरव गांगुलीको जीवनीमा पनि बायोपिक बन्ने भएको छ । सौरव भारतीय क्रिकेट टिमको कप्तान भइसकेका छन् ।

पूर्व क्रिकेटर तथा भारतीय क्रिकेटको बोर्ड अफ कन्ट्रोलका अध्यक्ष सौरवले आफ्नो बायोपिकका लागि सहमति दिइसकेका छन् । २ सयदेखि २ सय ५० करोडमा निर्माण हुने यो फिल्मको शीर्ष भूमिकामा अभिनेता रणवीर कपूरको नाम चर्चामा छ ।

सौरव आफैंले समाचारको पुष्टि गरेका छन् । ‘हो, मैले बायोपिकका लागि मञ्जुरी दिइसकेको छु । यो फिल्म हिन्दी भाषामा हुनेछ । मेरा लागि अहिले नै निर्देशकको नाम घोषणा गर्नु बेठिक हुनेछ । सबै कुरा फाइनल भएपछि हामी फिल्मका बारेमा सार्वजनिक गर्नेछौं’, सौरवले भनेका छन् ।

फिल्मको स्क्रिप्ट फाइनल भइसकेको छ । प्रोडक्सन हाउसले सौरवसँग स्क्रिप्टका लागि कैयौंपटक भेटिसकेको छ । केही समय अघि अभिनेत्री नेहा धूपियाले सौरवको अनस्क्रिन भूमिकाका लागि अभिनेता ऋति रोशन ठिक हुने उल्लेख गरेकी थिइन् ।

फिल्ममा सौरवको युवा क्रिकेटर बनेदेखि भारतीय राष्ट्रिय टिमको कप्तान बनुञ्जेलसम्मको यात्रा देखाइनेछ । यसबाहेक उनी कसरी बीसीसीआईको अध्यक्ष बने भन्ने कुरा पनि खुलाइनेछ ।

By Editor

Leave a Reply

Your email address will not be published. Required fields are marked *