राज कुन्द्रा: भारतीय अर्बपति मुछिएको अश्लील सामग्री काण्ड के हो

अश्लील चलचित्र बनाएको आरोपमा चर्चित व्यवसायी राज कुन्द्राको गिरफ्तारी भारतीय सञ्चारमाध्यममा मुख्य समाचार बनिरहेको छ।

कुन्द्रा ब्रिटिश नागरिक हुन् र बलीवुडकी चर्चित नायिका शिल्पा सेट्टीका पति हुन्।

उद्योगपति कुन्द्रा संसारकै सबभन्दा धनी क्रिकेट प्रतिस्पर्धा इन्डियन प्रिमियर लीगको एउटा टोलीका मालिक पनि हुन्।

४५ वर्षीय कुन्द्रालाई अश्लील सामग्री उत्पादन गर्ने समूहको ‘प्रमुख सदस्य रहेको’ र इन्टरनेटमा राखिएका यौन भिडियोमा अश्लील दृश्य दिन केही महिलालाई बाध्य बनाएको दाबी प्रहरीले गरेको छ।

कुन्द्राले कुनै पनि गलत काम नगरेको बताएका छन्।

उनका कानुनी सल्लाहकार आबाद पोन्दाले कुन्द्राको ‘गिरफ्तारी गैरकानुनी’ भएको बताएका छन्।

फेब्रुअरीदेखि सुरु भएको अश्लील चलचित्रसम्बन्धी अनुसन्धानमा अहिलेसम्म नौ जना गिरफ्तार भएका छन्।

गिरफ्तार हुनेमा अभिनेता, उत्पादक र कम्पनीका कार्यकारी रहेका छन्।

आरोपितहरूले महिलालाई आकर्षित गर्न झुटा आश्वासन दिएको पनि प्रहरीले जनाएको छ।

भाडामा लिइएको घरमा बनाइएका भनिएका भिडिओहरू त्यसपछि मोबाइल फोन एपहरूमा राखिएको थियो।

यस्तो एपको चार लाख जति ग्राहक रहेको र उनीहरूले २०० देखि ४०० भारतीय रुपैयाँ मासिक तिर्ने गरेको बताइएको छ।

प्रहरीका अनुसार कुन्द्रा ती अश्लील चलचित्र बनाउने एक कम्पनीका मालिक हुन्।

कुन्द्रालाई उनकै मुम्बईस्थित विलासी छरबाट जुलाई २० तारिखमा गिरफ्तार गरिएको थियो।

उनलाई धोकेबाजी, अश्लील सामग्रीहरू विक्री गरेको र ‘असभ्य विज्ञापन गरेको’ आरोप लगाइएको छ।

भारतीय कानुन अनुसार अश्लील लगायत ‘असभ्य’ सामग्री छाप्नु वा प्रसारण गर्नु गैरकानुनी हो र सात वर्षसम्मको जेल सजाय हुन सक्छ।

तर पनि यस्तो उद्योग भारतमा फस्टाएको बताइन्छ।

अश्लील सामग्री उपभोग गर्ने भारतीयहरूको सङ्ख्या ठूलो भएको विश्वास गरिन्छ।

पोर्नहबले सार्वजनिक गरेको सूचीमा अमेरिका र ब्रिटेनपछि त्यस्ता सामग्री उपभोग गर्नेमा भारत रहेको छ।

इन्टरनेटका कारण भारतमा अश्लील सामग्रीको लोकप्रियता बढेको बताइन्छ।

फेब्रुअरी ४, २०२१ मा अश्लील दृश्यहरू खिचिरहेको स्थानमा मुम्बईका प्रहरी अधिकारीहरू पुगेका थिए।

प्रहरीले सोफामा दुईजना नाङ्गै बसिरहेको र एक महिलाले उक्त दृश्य खिचिरहेको पाएको बताएको छ।

उक्त घरबाट मोबाइल फोन, ल्यापटप र क्यामेरा नियन्त्रणमा लिएको प्रहरीले बताएको थियो।

दृश्य खिचिरहेकी महिलासहित पाँचजना गिरफ्तार गरिएको थियो। र उक्त दृश्य दिन बाध्य पारिएकी महिलाको उद्धार गरिएको प्रहरीले बताएका छ।

त्यसयता भएको अनुसन्धानमा केही महिलाहरूले आफूलाई त्यस्तो दृश्य दिन बाध्य गरिएको भन्दै प्रहरीमा निवेदन दिएका छन्।

दृश्य खिचिरहेकी महिलाले अनुसन्धानकर्ताहरूलाई हटहिट्स नामको एप आफ्नो स्वामित्वमा रहेको बयान दिएको प्रहरीले बताएको छ।

ती महिला र अन्यले ग्राहकका लागि अश्लील चलचित्र अपलोड गर्ने गरेको प्रहरीले जनाएको छ।

मुम्बईका प्रहरी आयुक्त मिलिन्द भरम्बेका अनुसार ‘नायिका बन्न चाहने महिलाहरूलाई वेब शृङ्खला र छोटा सिनेमामा भूमिका दिने प्रलोभन देखाएर त्यस्ता दृश्य गर्न बाध्य बनाइएको थियो’।

हटहिट्स बाहेक तीन अन्य एप पनि अनुसन्धानमा परेका छन्।

प्रहरीले विभिन्न एपका खातामा रहेका सात करोड ५० लाख रुपैयाँ नियन्त्रणमा लिएको छ।

प्रहरीले अश्लील सामग्री बनाउने र त्यस्ता सामग्री प्रसारण गर्ने दुवै पक्षमाथि कारबाही गरिने बताएको छ।

अनुसन्धानकर्ताहरूले यूकेमा रहेको कम्पनी केनरिनमाथि पनि अनुसन्धान भइरहेको बताएका छन्।

उनीहरूको दाबी छ कि कुन्द्राले भारतीय कानुन छल्न हटशट्स भनिने अश्लील सामग्री केनरिनलाई बिक्री गरेका छन्।

यो एप गत वर्ष एपलको एप स्टोर र गुगल प्लेमा उपलब्ध थियो तर गुनासो आएपछि हटाइएको थियो।

केनरिन लन्डनमा रहेको भए पनि त्यसको विषयवस्तु उत्पादन वितरण र हिसाबकिताब कुन्द्राको कम्पनी भियानले व्यवस्थापन गर्ने भरम्बेले बताए।

बीबीसीको भियानसँग प्रतिक्रियाका लागि सम्पर्क गर्ने प्रयास सफल हुन सकेन।

मङ्गलवार अनुसन्धानकर्ताले भियानको मुम्बई कार्यालयमा छापा मारेका थिए। प्रहरीले त्यहाँ पनि अश्लील फिल्म पाएको बताएको छ।

कुन्द्रा यसअघि पनि इन्डियन प्रिमियर लीगमा म्याच फिक्सिङ गरेको आरोप बेहोरेका व्यक्ति हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *