ग्रेटर कोचबिहार पीपल्स एसोसिएशनले चेताउनी दिएर फेरि आन्दोलन आरम्भ गरेको छ। कोचबिहारलाई छुट्टै राज्यको रूपमा मान्यता दिने माग गर्दै लगभग 8 वर्षपछि फेरि रेल रोको आन्दोलन थालिएको छ। यसको कारण मङ्गलवार रातिदेखि पूर्वोत्तर भारतीय रेल सेवा प्रभावित बनेको छ। न्यू जलपाइगढ़ी-गुवाहाटी बन्दे भारत एक्सप्रेस, बँगाईगाउँ-न्यू जलपाइगढ़ी एक्सप्रेसजस्ता रेलहरू रद्द गरिएका छन्। डिब्रुगढ़-नई दिल्ली राजधानी एक्सप्रेस, आनन्द बिहार अरुणाचल एक्सप्रेस, नई दिल्ली एक्सप्रेस र कामाख्या-राजेन्द्रनगर एक्सप्रेसलाई घुमाउरो मार्ग भएर चलाउनु परिरहेको छ। स्वाभाविक रूपमा धेरै यात्रीहरूले समस्याको सामना गरिरहेका छन्।
छुट्टै राज्यको माग गर्दै ग्रेटर कोचबिहार पीपल्स एसोसिएशन र कोचबिहार राज्य डिमाण्ड कमिटी नामक दुई सङ्गठनका कार्यकर्ताहरूले पहिले कोचबिहार जिल्ला प्रशासन कार्यालयमा प्रदर्शन गरे। ग्रेटर कोचबिहार पीपल्स एसोसिएशनका शीर्ष नेता वंशीवदन बर्मनको घोषणाअनुसार दिसम्बर 11 देखि अनिश्चितकालीन रेल रोको आन्दोलन आरम्भ भएको छ। मङ्गलवार रातिदेखि नै वंशीवदन समर्थकहरूसँग असम-पश्चिम बङ्गालको सीमामा पर्ने जोडाई रेलवे स्टेशनमा भेला भए। बुधवार बिहान उज्यालो हुँदै जाँदा ती कार्यकर्ताहरू रेल मार्गमा बसे। तिनीहरूले हातमा फेस्टुन र पोस्टर लिएर नारा लगाए।
प्रदर्शनको कारण मङ्गलवार पनि केही रेलहरू रद्द गर्न पूर्वोत्तर भारतीय रेल बाध्य बनेको छ। बङ्गालबाट असम जाने रेलहरूको मार्ग परिवर्तन गरिएको छ। न्यू जलपाइगढ़ी-गुवाहाटी अप र डाउन बन्दे भारत एक्सप्रेस रद्द गरिएका छन्। अब रेल अवरोधको कारण स्टेशनमा समस्यामा परेका यात्रीहरूलाई न्यू कोचबिहार स्टेशनबाट बसद्वारा गन्तव्यमा पुर्यााउने व्यवस्था गरिएको छ। 8 वर्षअघि 2016 मा छुट्टै राज्यको माग गर्दै ग्रेटर कोचबिहार पीपल्स एसोसिएशनले रेल अवरोध कार्यक्रम आरम्भ गरेको थियो। न्यू कोचबिहार स्टेशनमा अनिश्चितकालीन रेल रोको आन्दोलन आरम्भ भएको थियो। लगभग 80 घण्टासम्म अवरोध चलेपछि पुलिसले कारवाही गरेर आधा घण्टाभित्रै रेल मार्गबाट प्रदर्शनकारीहरूलाई हटायो। पुलिसको कारवाहीभन्दा केही घण्टाअघि आन्दोलनकारीका नेता वंशीवदन बर्मन बेपत्ता बनेका थिए। आठ वर्षपछि पुन: त्यसै मागमा जोडाई रेलवे स्टेशनबाट रेल अवरोध आरम्भ भएको छ। जोडाई स्टेशनलाई अवरोधको केन्द्रको बनाउनु पूर्वोत्तर भारतीय रेल सेवालाई प्रभावित पार्नु हो।