सांसदद्वारा हिलकार्ट रोडको जिम्मावारी हस्तान्तरणको प्रस्ताव

दार्जीलिङतर्फ जाने हिलकार्ट रोड अर्थात 110 नम्बर राष्ट्रिय राजमार्गको विस्तार गरेर सड़कमै टोय ट्रेनको ट्र्याक राख्ने योजना छ। यसका लागि यस सड़कको जिम्मावारी नेशनल हाइवे इन्फ्रास्ट्रक्चर डेभलपमेण्ट कर्पोरेशन लिमिटेड (एनएचआईडीसीएल) लाई सुम्पन केन्द्रीय सड़क परिवहन मन्त्रालयलाई पत्र लेखेका छन् दार्जीलिङका सांसद राजु विष्टले। दिघो समयदेखि यो सड़क राज्यका सार्वजनिक निर्माण विभागअन्तर्गत छ अनि तिनीहरूले केन्द्रबाट आएको पैसा खेर फाल्नबाहेक केही नगरेका तिनको आरोप छ। यतिका वर्षमा सड़कलाई एक मिटर पनि फराकिलो बनाउन सकेका छैनन्। उल्टो सुकनामा सड़क निर्माणको नाममा अहिले करोड़ौँ रुपियाँ खेरो फाल्दैछन्। यस विषयमा सार्वजनिक निर्माण विभागको राष्ट्रिय राजमार्ग डिभिजन (डिभिजन-9) का कार्यकारी इञ्जीनियर देवव्रत ठाकुरले भने, सांसदले के भनेका छन् त्यसबारे मलाई थाहा छैन। हामी दार्जीलिङतर्फ जाने हिलकार्ट रोडलाई फराकिलो बनाउने योजना बनाइरहेका छौँ। समयमै विस्तृत परियोजना प्रतिवेदन तयार गरेर स्वीकृतिका लागि दिल्ली पठाउनेछौँ।
सिलगढ़ीको दार्जीलिङ मोड़देखि सुकना, खर्साङ, सोनादा हुँदै दार्जीलिङसम्म 76 किलोमिटर राष्ट्रिय राजमार्ग छ। दार्जीलिङको ऐतिहासिक टोय ट्रेनको ट्र्याक पनि यस सड़कको दाहिने-देब्रेपट्टि रहेको छ। रोहिणी रोड निर्माण भएपछि यस राष्ट्रिय राजमार्गको भार केही कम्ती भएको छ। 2010 देखि घैयाबारी, तीनधारेमा पटकपटक पैह्रोका कारण राष्ट्रिय राजमार्ग धेरै बिग्रिएको थियो। त्यो सड़क पनि अहिले पुनर्निर्माण गरिएको छ। तर धेरै वाहनहरू अझै पनि यो सड़क भएर चल्दैनन्। तर दार्जीलिङ जाँदा ट्राफिक जामको समस्यालाई समाधान गर्न यस सड़कलाई फराकिलो बनाउने विचार लामो समयदेखि चलिरहेको छ। यसै कार्यका लागि सड़कलाई एनएचआईडीसीएललाई सुम्पन प्रस्ताव गरिएको सांसद विष्टले बताएका छन्। सांसदले भने, दिनभरमा एउटा मात्र टोय ट्रेन चल्छ। त्यसका लागि अलग्गै रेल ट्र्याकको आवश्यकता छैन।

सड़कमा नै रेल ट्र्याक राखे राष्ट्रिय राजमार्ग फराकिलो हुनेछ। यसले गर्दा वाहनहरू सजिलै यो सड़क भएर आवतजावत गर्न सक्नेछन्। यसले दार्जीलिङको ट्राफिक जामको समस्या पनि धेरै कम्ती हुनेछ। सार्वजनिक निर्माण विभागका विज्ञहरूको भनाइमा दुई लेनको राष्ट्रिय राजमार्ग कम्तीमा सात मिटर चौड़ा हुन आवश्यक छ। तर दार्जीलिङतर्फ जाने हिलकार्ट रोड कतै 5.5 मिटर छ भने कतै धेरैमा 6 मिटर चौड़ा छ। आरोप लगाउँदै सांसदले भने, सार्वजनिक निर्माण विभागले पटकपटक सड़क मरम्मतीका लागि केन्द्रसँग पैसा माग्छ। तर पैसा आएपछि उक्त रकम खेरो फालिन्छ। राजु विष्टले अझ भने, केन्द्रको निकायलाई जिम्मा दिए सड़क योजनाअनुसार दार्जीलिङतर्फ जाने हिलकार्ट रोड फराकिलो हुनेछ। साथै सड़कको एक छेउमा टोय ट्रेनको ट्र्याक राखिनेछ।

By Piyali Poddar