प्राचार्य पाठशाला आउँदा शोकजको सम्मुखीन प्राथमिकका प्रधान शिक्षक

नेताजी इण्डोर स्टेडियमबाट मुख्यमन्त्री स्वयंले रोजगार गुमाएका शिक्षकहरूलाई स्कूल-स्कूलमा स्वयंसेवकका रूपमा योगदान गर्न आह्वान गरेकी थिइन्। तर अर्कातिर धूपगुड़ीको गादों 2 जुनियर बेसिक स्कूलका प्रधान शिक्षक अब्दुल सत्तार भने विद्यार्थीहरूलाई कक्षा लिनका लागि एकजना कलेज प्रिन्सिपललाई बोलाएको आरोपमा शो–कजको सम्मुखीन बनेका छन्। स्कूल शिक्षा विभाग र जिल्ला प्राथमिक विद्यालय संसदको ध्यानाकर्षण भएपछि उक्त प्राइमरी स्कूलका प्रधान शिक्षकलाई लिखित उत्तर दिन बताइएको छ। प्रधान शिक्षक सत्तारले भने, “उच्च अधिकारीहरूले मलाई जे-जे सोधेका छन् सबै कुराको विस्तृत रूपमा लिखित उत्तर दिएको छु। म यसबारे सार्वजनिक रूपमा केही भन्न चाहन्नँ।”
यो घटना गत 4 अप्रेलदेखि आरम्भ भएको हो। धूपगुड़ी गर्ल्स कलेजका प्राचार्य डा. विजय देवनाथ ‘फन एण्ड लर्न’ कार्यक्रमअन्तर्गत उक्त प्राइमरी स्कूलमा गएका थिए। धूपगुड़ी गर्ल्स कलेजका प्राध्यापकहरूको पहलमा लामो समयदेखि सामाजिक र शैक्षिक विभिन्न कार्यक्रमहरू सञ्चालन हुँदै आइरहेका छन्। त्यही सिलसिलामा आधारभूत शिक्षा स्तरमा अङ्ग्रेजी भाषाको आकर्षक र आधुनिक पद्धतिबाट शिक्षण गर्न कलेजका प्राचार्य र प्राध्यापकहरू विभिन्न प्राइमरी स्कूलमा गएर विद्यार्थीहरूसित संवाद गर्छन् र तिनीहरूको समस्या बुझ्ने प्रयास गर्छन्।फन एण्ड लर्न’ शीर्षक कार्यक्रमअन्तर्गत सोही दिन कलेज प्राचार्य विद्यालय गएका थिए र विद्यार्थीहरूसित लामो समयसम्म कुराकानी गरेका थिए। पछि तिनले अभिभावकहरूसित पनि शिक्षा सम्बन्धी विषयबारे छलफल गरेका थिए। त्यस छलफलमा शिक्षा प्रणालीसित सम्बन्धित केही आलोचनासमेत उठेका थिए। सो सम्बन्धी एक भिडियो भाइरल भएपछि जिल्ला प्राथमिक विद्यालय संसदमा हङ्गामा मच्चिएको थियो। प्राचार्यलाई विद्यालयमा निमन्त्रणा किन दिइयो भनेर प्राइमरी स्कूलका प्रधान शिक्षकलाई स्पष्टीकरण मागिएको थियो।
धूपगुड़ी गर्ल्स कलेजका प्राचार्यले भने, “हाल राज्य सरकारद्वारा सञ्चालित प्राइमरी स्कूलका अङ्ग्रेजी पाठ्यपुस्तकहरू देशकै उत्कृष्टमध्ये एक हो। त्यसलाई अझ रोचक र प्रभावकारी बनाउने केही पद्धतिबारे हामीले लामो समयदेखि कार् गर्दै आइरहेका छौँ। सोही ‘फन एण्ड लर्न’ कार्यक्रमबारे विद्यार्थीहरूसित छलफल गरियो। यसमा विवाद किन भइरहेको छ, मलाई थाहा छैन।” कलेजका एक प्राचार्यले प्राइमरी विद्यालयका बालकबालिकाका अभिभावकहरूसित शिक्षा सम्बन्धी विषयमा छलफल गर्नुमा के यस्तो ठूलो गल्ती भयो त? भन्ने प्रश्न स्थानीय शिक्षक समाजमा पनि उठेको छ। एकजना वरिष्ठ प्राइमरी शिक्षकअनुसार, “जति मैले बुझेँ, प्रधान शिक्षक अब्दुल सत्तारलाई यस विषयमा अत्यधिक मानसिक दबाउ दिइएको छ। त्यसकै कारण तिनी बिरामी भएर अस्पताल भर्ना हुनु परेको हो।” धूपगुड़ी सर्कलका एसआई तपस दासले प्रधान शिक्षकले लिखित उत्तर दिइसकेको स्वीकार गरेका छन्। यद्यपि विभागीय अधिकारीहरू प्रधान शिक्षकको आलोचना गरिरहेका भए पनि स्थानिय अभिभावकहरूले भने यस पहललाई स्वागत गरेका छन्।

By Piyali Poddar