बङ्गलादेशमा आलु निर्यात, बजार भाउ आकाशमा

विभिन्न राज्य मात्र होइन यसपल्ट आलु विदेश पनि निर्यात भइरहेको छ। आलु व्यापारी सङ्घका सूत्रहरूअनुसार, उत्तर बङ्गालबाट आलु अहिले बङ्गलादेशमा पठाइँदैछ। बङ्गलादेशमा आलुको व्यापक माग बढ़ेको छ। त्यसैले अहिले आलुको मूल्य घट्ने कुनै सम्भावना छैन। हिमघरमा पनि यसपल्ट आलुको भण्डारण धेरै घटेको छ। सरकारले 30 नोभेम्बरभित्र हिम घर खाली गर्ने निर्देश दिएको छ। त्यसअघि नै हिम घऱ खाली हुने आशा व्यक्त गर्दैछन् व्यापारीहरू। व्यापारी सङ्घका सूत्रअनुसार कोचबिहार चेङ्ग्राबन्धा सीमा हुँदै प्रत्येक दिन दुईदेखि तीन ट्रक आलु बङ्गलादेश पठाइँदैछ। यति बेला हिली र मेहेदीपुर सीमाबाट पनि बङ्गलादेशमा आलु पठाइरहेको छ।

उत्तर बङ्गाल आलु व्यापारी सङ्घका सदस्य जगदीश सरकारले भने, रातो आलु विशेष गरी बङ्गलादेश पठाइँदैछ। कोचबिहारमा अहिले सेतो आलु 30 देखि 35 रुपियाँ प्रति किलो, रातो आलु 40 रुपियाँ प्रति किलो र नयाँ आलु 60 रुपियाँ प्रति किलो बिक्री हुँदैछ। दिसम्बरको मध्यसम्म नयाँ आलुको उत्पादन बढ़ेपछि मात्र मूल्य केही घट्न सक्ने सम्भावना छ।यसैबीच अलिपुरद्वार जिल्लाका विभिन्न बजारमा पनि आलु-प्याजको मूल्य घट्ने नाम छैन। यसले गर्दा उपभोक्ताहरू चरम समस्यामा परेका छन्।

मङ्गलवार अपराह्न, अलिपुरद्वारको प्रशासनिक अधिकारीहरूले बैठक गरे। प्रशासनिक सूत्रअनुसार आलु र प्याजको मूल्य नियन्त्रण गर्न आज बुधवारदेखि जिल्लाका विभिन्न बजारमा टास्क फोर्सका सदस्यहरूले भ्रमण गर्नेछन्। यद्यपि अलिपुरद्वारका महकुमा शासक देवव्रत रायले भने, यहाँका बजारहरूमा साग-सब्जीको मूल्य नियन्त्रण गर्न टास्क फोर्सले निगरानी गरिरहेको छ। तर हालैका दिनहरूमा विभिन्न बजारमा आलु र प्याजको मूल्यबारे गुनासो उठेको छ। त्यसैले यस विषयलाई कठोरतासित हेरिरहेका छौँ। त्यसकारण आज विभिन्न विभागका अधिकारीहरूसित यस विषयमा बैठक गरिएको पनि तिनले बताए। अलिपुरद्वारका विभिन्न बजारमा नयाँ आलु 55-60 रुपियाँ प्रति किलो बिक्री भइरहेको गुनासो छ। धेरै बजारमा पुरानो आलु पनि औसत 40 रुपियाँ प्रति किलो बिक्री भइरहेको छ। केही बजारमा प्याज 70 रुपियाँ प्रति किलोसम्म बिक्री भइरहेको छ।

By Piyali Poddar