दार्जीलिङ जिल्ला पुलिस अधीक्षक प्रवीण प्रकाश चढ्ने वाहनका कागजातबारे प्रश्न उठिरहेको छ। उक्त वाहनको प्रदूषण, बीमा जस्ता सबै कागजातहरू फेल रहेका आरोप उठेको छ। तर त्यसै वाहनमा अधीक्षक सारा जिल्लामा घुमिरहेका छन्। केवल अधीक्षकको मात्र होइन अन्य अधिकारीहरूको अधिकांश वाहनको पनि त्यस्तै हालत छ। थाना ओसीका वाहनदेखि गस्ती भ्यानसम्म सबैमा कागजातहरू नहुने आरोप छ। ती वाहनहरूको प्रदूषण र बीमा कुनै पनि कागजातको म्याद सकिएको दाबी गरिएको छ। दार्जीलिङ जिल्ला पुलिस अधीक्षकको वाहनको नम्बर हालेर आरटीओ एपमा खोज्दा उक्त नम्बरका वाहनको बीमा र प्रदूषण प्रमाणपत्र लामो समयदेखि फेल रहेको देखिन्छ। जिल्ला पुलिस अधीक्षकले चढ्ने वाहनको यस्तो अवस्था देखेर सर्वसाधारणमा आक्रोश बढ़ेको छ। यसैबारे प्रशासनिक तहमा चर्चा चुलिएको छ। यद्यपि यस विषयमा दार्जीलिङ जिल्ला पुलिस अधीक्षकलाई धेरैपटक फोन गर्दा पनि तिनले फोन उठाएनन्। तिनलाई सन्देश पठाएर पूरै कुरा जानकारी गराइए पनि कुनै उत्तर प्राप्त भएन।
स्थानीय वासिन्दाहरू भन्छन्, सड़कमा वाहन लिएर निस्कँदा ट्राफिक सिग्नल र वाहनका कागजात ठिक नभए ट्राफिक पुलिसले जरिमाना लगाउँछ। नक्सलबारीदेखि खोरीबारी, बाघडुग्रासम्म विभिन्न क्षेत्रहरूमा दैनिक रूपमा ट्राफिक पुलिसले नियम उल्लङ्घन गर्नेहरूमाथि जरिमाना लगाउने गरेको देखिन्छ। सर्वसाधारणका लागि यो दैनिक दिनचर्या हो। सड़कका चोकहरूमा ट्राफिक पुलिस र सिभिक भोलिण्टियरहरूलाई वाहन रोकेर कागजात जाँच गरिरहेको देखिन्छ। कागजातमा समस्या भेटिए जरिमाना तिर्नुपर्छ। तर पुलिसको वाहन देख्नेबित्तिकै त्यसलाई छोड़िने गरिन्छ। नक्सलबारी थाना र ग्रामीण क्षेत्रका धेरै थानामा पुलिसले प्रयोग गर्ने वाहनका कागजात ठिक छैनन्।
मङ्गलवार ट्राफिक व्यवस्थापनका लागि जिल्ला पुलिस अधीक्षकले समतलका विभिन्न क्षेत्रमा भ्रमण गरेका थिए। तिनले सड़क सुरक्षाबारे सन्देश दिए। तर आफ्नै वाहनको कागजात ठिक छन् कि छैनन् भन्ने तिनलाई थाहा छैन। पुलिस अधीक्षकले चढ्ने WB 74 AL 4446 नम्बरको सेतो रङ्गको विलासी वाहनको बीमाको म्याद गत वर्षको जूनमा समाप्त भएको आरोप छ। त्यसै गरी, 2023 को दिसम्बरमा प्रदूषण प्रमाणपत्रको म्याद समाप्त भएको छ। वाहन टिस्टा डिस्ट्रिब्युटरको नाममा दर्ता छ। पुलिस जाँचमा सर्वसाधारणको वाहनका कागजातमा समस्या भेटिए जरिमाना तिर्नुपर्छ वा स्पट फाइन दिनुपर्छ। स्थानीयहरू भन्छन्, पछिल्लो समय इष्टर्न बाइपासमा दुर्घटनामा मृत्यु भयो। त्यसपछि दुर्घटना रोक्न कुनै प्रयास गरिएको देखिन्न। बरु पुलिस मोटरसाइकल र स्कूटरचालकहरूलाई जरिमाना गर्न व्यस्त छ। धेरैपल्ट जरिमानाको पैसा सरकारी खातामा नभएर केही ट्राफिक पुलिसको खल्तीमा जाने आरोप छ। राति विशेष भ्यानको नाममा पैसा असुली पनि भइरहेको आरोप छ। सिलगढ़ी नगरनिगम क्षेत्रमा जिल्ला पुलिसको अधीनमा तीन थाना, चार चौकी र तीन वटा ट्राफिक विभाग छन्। तर धेरैपल्ट ट्राफिक नियम पालना नगर्ने अधिकारीहरू पनि देखिन्छन्। यसैबीच, पुलिस अधीक्षकको वाहनको यस्तो अवस्थाबारे यातायात विभागका जिल्ला अधिकारी सोनम लेप्चाले असन्तुष्टि व्यक्त गरेका छन्। लेप्चाले भने, यस्तो प्रकारको वाहन सरकारी काममा प्रयोग गर्न मिल्दैन। यसलाई अपडेट गरेपछि मात्र प्रयोग गर्न मिल्छ। अधिकारीले यस विषयमा खोजी गरेर आवश्यक कदम उठाउने आश्वासन दिएका छन्।