मुख्य सड़कदेखि निकै भित्र एउटा भवन छ नयाँ निलो-सेतो रङ्ग पोतिएको। अगाड़ि ठूलो अक्षरमा लेखिएको छ चाँदमणि टी इस्टेट जुनियर बेसिक स्कूल।
तर वास्तवमा उक्त भवनदेखि लगभग 200 मिटर टाढ़ा मूल सड़कको छेवैमा असल स्कूल छ। त्यहाँ पठन-पाठन चलिरहेको छ। बाहिरबाट हेर्दा लाग्न सक्छ कि विद्यार्थीहरूको सुविधाका लागि शिक्षा विभागले नयाँ भवन बनाएको हो। तर वास्तविकता फरक छ। कसले यस स्कूललाई मुख्य सड़कदेखि 200 मिटर भित्र बनायो भन्ने कुरा स्वयम् शिक्षा विभागलाई नै थाहा छैन। सिलगढ़ी प्राथमिक विद्यालय परिषदका अध्यक्ष दिलीप रायले भने, कसैले हामीलाई उक्त भवन दान गरेको भन्ने सुनेको छु। यसबारे बढ़ी केही भन्न सक्दिनँ। रोचक कुरा के छ भने उक्त भवन एसजेडीएको जमीनमा बनाइएको छ। त्यसकारण सिलगढ़ी-जलपाइगढ़ी विकास प्राधिकरण (एसजेडीए) ले 17 जनवरीको दिन भवन भत्काउने नोटिश जारी गरिसकेको थियो। सात दिनभित्र भत्काउन भनिएको थियो। तर एक महीना बितिसक्दा पनि निर्माण कार्य रोकिएको छैन। बरु अझ तीव्र गतिमा निर्माण कार्य भइरहेको छ। एसजेडीएकी प्रमुख कार्यकारी अधिकारी अर्चना वाङखेड़ेले भनिन्, एउटा स्कूल भवन बनाइएको विषयबारे कसैलाई जानकारी छैन भनेर सम्भव छैन। हामी यस विषयमा जाँच गर्नेछौँ। जब गैरकानूनी निर्माण भत्काउने विषयमा सोधियो तिनले संक्षिप्त उत्तर दिइन्, हेर्नुपर्छ।
चाँदमणिमा लामो समयदेखि एउटै भवनमा दुईवटा स्कूल सञ्चालन भइरहेका छन्। बिहान चाँदमणि टी इस्टेट जुनियर बेसिक स्कूल अनि दिउँसो चाँदमणि जुनियर हिन्दी हाई स्कूल। जुनियर बेसिक स्कूल 1957 मा स्थापित भएको हो भने जुनियर हाई स्कूल 2011 देखि सञ्चालनमा छ। केही वर्षअघि पाठीकोलोनी मेन रोडदेखि मतिगढ़ा जाने नयाँ सड़क बनाइएको थियो। सोही सड़कको छेउमा पुरानो स्कूल भवनमा पठन-पाठन सुचारु छ। तर एसजेडीएको जमीनमा एउटा नयाँ दुईतल्ले भवन निर्माण भइरहेको छ। कसले आफ्नै खर्चमा यो भवन बनायो? भन्ने प्रश्न उठेको छ। सूत्रअनुसार एसजेडीएले उक्त जमीन एउटा प्रोमोटिङ एजेन्सीलाई दिएको छ। उक्त एजेन्सी यहाँ ठूलो अपार्टमेण्ट निर्माण गरेर करोड़ौँको व्यापार गर्ने तयारीमा छ। त्यसैले पुरानो स्कूललाई भित्र सारेर मूल सड़कको छेवैको जमीन कब्जा गर्न खोजिएको हो। एकजना स्थानीय भाजपा नेताको भनाइअनुसार स्कूल स्थानान्तरण गर्न ठूलो रकमको सम्झौता भएको छ। त्यसैले प्रशासनले आँखा बन्द गरिरहेको छ। तिनले प्रश्न गरे, एसजेडीएले सात दिनभित्र निर्माण भत्काउने भनेको थियो। तर अहिले पनि किन निर्माण कार्य भइरहेको छ?
चाँदमणि टी इस्टेट जुनियर बेसिक स्कूलका शिक्षक इञ्चार्ज अनिलकुमार रामले भने, हामीलाई नयाँ भवनबारे केही थाहा छैन। हाम्रो स्कूल बाहिरदेखि भित्र सारिएको देखेर हामी अचम्ममा परेका छौँ। तर कसरी र कसले यो गरेको हो त्यसबारे हामी भन्न सक्दैनौँ। यही कुरा चाँदमणि जुनियर हिन्दी हाई स्कूलका सहायक शिक्षक साहिदुल हकले पनि दोहोऱ्याए। तिनले भने, हामीले धेरै ठाउँमा जानकारी गराएका हौँ तर कसैले वास्ता गरेन। सिलगढ़ीमा सरकारी स्कूल सार्ने यस्तो मनमानी पहिलोपटक देखिएको हो। मतिगढ़ा-नक्सलबारी क्षेत्रका विधायक आनन्दमय बर्मनले भने, उक्त जमीनको मूल्य करोड़ौँ छ। पुरानो स्कूल हटाएर प्रोमोटरले अपार्टमेण्ट बनाउने योजना बनाएको छ। यसमा सत्तारूढ़ पार्टीका केही व्यक्तिहरू संलग्न छन् भन्ने मेरो अनुमान छ।
पुरानो स्कूलको जमीन कब्जा गर्ने योजना, नयाँ भवनमा रहस्य
![](https://purbottar.co.in/wp-content/uploads/2025/02/land-800x500.jpg)