पेगासस जासूसी : अम्बानी र सीबीआई पूर्वप्रमुख पनि निगरानीमा

इजरायली कम्पनी एनएसओले निर्माण गरेको जासूसी सफ्टवेयर पेगाससको निगरानीमा रहेका विश्वका प्रभावशाली व्यक्तिहरुको नाम खुलासा हुँदै गएको छ। उक्त सूचीमा भारतका उद्योगपति अनिल अम्बानी र केन्द्रीय जाँच ब्यूरो (सीबीआई)का पूर्वप्रमुख आलोक वर्माको पनि नाम रहेको द वायरले जनाएको छ।

वर्मालाई केन्द्र सरकारले सन् २०१८ मा सीबीआई प्रमुखबाट बर्खास्त गरेको थियो। अम्बानीसँगै उनको कम्पनी एडीएका अधिकारीहरु र दसल्ट एभिएसन (राफेल विमान बनाउने कम्पनी)का प्रतिनिधि वेङ्कट राव पोसिनालगायत अन्य अधिकारीहरुको समेत निरन्तर निगरानी गरिएको पाइएको छ।

पेगासस प्रोजेक्ट विश्वभरका १७ प्रभावशाली सञ्चारमाध्यममा कार्यरत पत्रकारहरुको समूह हो, जसले एनएसओ ग्रुपको जासूसी सफ्टवेयरबाट भएको निगरानीको जाँच गरिरहेको छ।

उक्त सफ्टवेयरको प्रयोग गरेर विश्वभरका ५० हजारभन्दा धेरै पत्रकार, अधिकारकर्मी, वकिललगायतको जासूसी गरिएको खुलेको छ। उक्त सूचीमा भारतका तीन सयभन्दा धेरै प्रभावशाली व्यक्तिहरुको नाम समावेश रहेको बताइएको छ।

भारतमा विपक्षीहरुले यो जासूसी प्रकरणमा सरकारलाई जिम्मेवार देखाउँदै बिहीबार संसद्को बैठकसमेत अवरुद्ध गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *