परमवीर सिंह: अकस्मात् बेपत्ता भएका मुम्बई प्रहरीका पूर्वप्रमुख कहाँ छन् प्रहरीलाई पनि थाहा छैन

गत अक्टोबर १ मा भारतीय अधिकारीहरूले मुम्बई प्रहरीका पूर्वप्रमुख हराइरहेको उदेकलाग्दो घोषणा गरे।

दुई वर्षअघि उनलाई भारतको आर्थिक राजधानीका रूपमा चर्चित मुम्बईमा प्रहरी प्रमुख नियुक्त गरिएको थियो। उनले ४५ हजार प्रहरीको नेतृत्व गरेका थिए।

तर ५९ वर्षीय सिंह अहिले न आफ्नो कार्यालय गएका छन् न त मुम्बईस्थित अपार्टमेन्ट नै। चण्डीगढस्थित उनको पुर्ख्यौली घरमा पनि उनको अत्तोपत्तो छैन।

मुम्बई प्रहरीले आफ्नो पूर्वप्रमुखको खोजी सुरु गरेको छ। तर मुम्बईमा उनीसँगै बस्ने श्रीमती र छोरी तथा विदेशमा बस्ने छोरा अनि उनका वकिलहरू सिंह कहाँ छन् भन्ने विषयबारे मौन छन्।

यो घटनाको जालो गत फेब्रुअरी महिनामा एशियाका सबैभन्दा धनी व्यक्ति मुकेश अम्बानीको घरनजिकै विस्फोटक पदार्थ भरिएको एउटा गाडी फेला परेसँग जोडिन्छ।

केही दिनपछि उक्त गाडीका कथित धनीको शव सहरनजिकै समुद्रमा फेला पर्‍यो। प्रहरीले उनको हत्या भएको र शव फ्याँकिएको निष्कर्ष निकाल्यो।

मृतकसँग परिचित एक प्रहरी अधिकृत पक्राउ परेपछि घटनाक्रमले थप जटिल मोड लियो।

अपराध शाखामा कार्यरत सहायक निरीक्षक सचिन वाझे मुकेश अम्बानीको घरबाहिर फेला परेको विस्फोटक पदार्थ भरिएको गाडी र माथि उल्लिखित हत्यासँग सम्बन्धित योजनामा संलग्न भएको अनुसन्धानकर्ताहरूको विश्वास छ। तर वाझेले आरोप अस्वीकार गरेका छन्।

मार्च महिनामा सिंहलाई आफ्नो पदबाट हटाइयो। उनलाई प्रहरीलाई सहयोग गर्ने कम स्रोतसाधन रहेको होम गार्डको प्रमुख बनाइयो। भारतीय सञ्चारमाध्यमहरूका अनुसार उनलाई दण्डित गर्न त्यसरी सरुवा गरिएको हो।

“यो सामान्य सरुवा होइन। मुम्बई प्रहरी आयुक्तको कार्यालयमा काम गर्ने अधिकारीहरूले गम्भीर गल्ती गरेका छन्। यी गल्तीहरू गम्भीर छन् जसकारण उनको सरुवा गरिएको हो,” राज्यका तात्कालिक आन्तरिक मामिलामन्त्री अनिल देशमुखले भनेका थिए।

आन्तरिक मामिला मन्त्रालयअन्तर्गत रहेर नै मुम्बई प्रहरीले काम गर्छ।

तर ती गम्भीर गल्तीहरू के थिए भन्ने कुरा भने कहिल्यै स्पष्ट पारिएन।

सिंह मध्य मार्चतिर आफ्नो पुरानो कार्यालयभन्दा केही किलोमिटर टाढा रहेको नयाँ कार्यालय गए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *