पञ्चायत प्रतिनिधिहरूद्वारा अग्नि पीड़ित परिवारसमक्ष भ्रमण

गत आइतवार भएको आगलागीमा घैयाबारीको दही डाँड़ामा अवस्थित प्रेमलाल राईको घर पूर्ण रूपले जलेर भष्म भएको थियो। भीषण आगलागीमा सम्पूर्ण घर जलेर भष्म हुँदा राई परिवारलाई ठूलो क्षति पुगेको छ।
उक्त घटनाको प्रत्यक्ष निरीक्षण गर्न मङ्गलवार सौरेनी ग्राम पञ्चायत दुईका प्रधान निरा सुब्बा, उप प्रधान रबीन तामाङ, पञ्चायत सदस्य देवकुमारी राई, रोशन लामा तथा पञ्चायत सचिव रूद्र शर्मा पीड़ित परिवारसमक्ष पुगेका थिए। प्रतिनिधि टोलीले आगलागीबाट भएको क्षतिको विस्तृत विवरण सङ्कलन गरेको साथै पीड़ित परिवारको अवस्थाबारे जानकारी लिएको छ।
घटनास्थलको निरीक्षण गरेपछि पञ्चायत प्रधान निरा सुब्बाले पीड़ित परिवारलाई प्रशासनले उपलब्ध गराउने सबै प्रकारका सहुलियत तथा राहत सुविधा प्रदान गरिने आश्वासन दिएकी छन्।

By Piyali Poddar