अलिपुरद्वार जिल्लामा मलेरियाको प्रकोप

कुमारग्राममा मलेरियाको प्रकोप कुनै पनि अवस्थामा नियन्त्रणमा ल्याउन सकिएको छैन। यस अवस्थामा सम्पूर्ण परिस्थितिलाई व्यवस्थापन गर्न स्वास्थ्य विभागले उक्त ब्लकमा जन सर्वेक्षण आरम्भ गरेको छ। उक्त सर्वेक्षण गर्न जाँदा एकै दिनमा जयन्ती चियाबारीका 14 जना मानिसहरू मलेरियाले सङ्क्रमित भेट्टाइयो। स्वास्थ्य विभागको सूत्रअनुसार ती सबैको उपचार आरम्भ गरिएको छ।

अलिपुरद्वारमा पनि मलेरिया सङ्क्रमितहरूको सङ्ख्या बढ्दै गइरहेको छ। स्वास्थ्य विभागको तथ्याङ्कअनुसार अन्तिम एक हप्तामा मच्छरजन्य रोगबाट जिल्लामा लगभग 90 जना सङ्क्रमित भए। तीमध्ये कुमारग्राम ब्लकमा सङ्क्रमितहरूको सङ्ख्या सबैभन्दा अधिक छ। स्वास्थ्य विभागको सूत्रअनुसार अहिले जिल्लामा मलेरिया सङ्क्रमितहरूको सङ्ख्या 415 पुगेको छ। तीमध्ये कुमारग्राममा सङ्क्रमितहरूको सङ्ख्या 300 भन्दा अधिक पुगेको छ। अलिपुरद्वारका बीओएमएच सुप्रिय चौधुरीले भने, मलेरियाको प्रकोप अधिक देखिएको कुमारग्रामका ती स्थानहरूमा सर्वेक्षण कार्य जारी राखिनेछ।

स्वास्थ्य विभागको सूत्रअनुसार सर्वेक्षण गर्दा सोमवार 600 जनाको रगत नमुना सङ्कलन गरियो। तीमध्ये 14 जनामा मलेरियाको पुष्टि भएको छ। पछिल्लो एक हप्तामा कालचिनी पञ्चायत क्षेत्रमा पनि 11 जना मलेरियाले सङ्क्रमित बनेका स्वास्थ्य विभाग सूत्रले जानकारी दिएको छ। यता चिनचुला चियाबारीका धेरै मानिसहरू सङ्क्रमित बनेका छन्। मङ्गलवार चिनचुला चियाबारीसहित वरिपरिका केही स्थानहरूमा ग्रामीण सम्पत्ति र स्वास्थ्य कर्मीहरूको टोलीले अभियान चलायो। स्वास्थ्य विभागको तथ्याङ्कअनुसार चालु वर्षमा कालचिनी ब्लकमा 35 जना मलेरियाले सङ्क्रमित बने। यो अघिल्ला केही वर्षहरूको तुलनामा निकै अधिक हो। कालचिनी ब्लक स्वास्थ्य अधिकारी श्रीकान्त मण्डलले भने, रोग नियन्त्रण गर्न रगत परीक्षणदेखि शुरु गरेर हामी सबैलाई सचेत गराउँदैछौँ। मानिसहरू पनि सतर्क रहनुपर्छ।

By Piyali Poddar