तस्वीर विवादमा यसपटक तृणमूल सतर्क बनेको छ। यसपल्ट तृणमूलको विधानसभा कार्यकर्ता सभा कोचबिहारको दक्षिण विधानसभामा आयोजना हुँदैछ। आगामी 31 जनवरीमा उक्त सभा हुने तय भएको छ। विवाद टार्नका लागि उक्त सभाको प्रचारमा हालसम्म कुनै पनि जिल्ला नेताको तस्वीर प्रयोग गरिएको छैन। सामाजिक सञ्जालमा प्रचारका लागि दिइएका पोस्टरहरूमा केवल मुख्यमन्त्री ममता ब्यानर्जी र अभिषेक ब्यानर्जीको तस्वीर मात्र समावेश गरिएको छ। ब्लक नेतृत्वले जानकारी दिएअनुसार, उक्त कार्यकर्ता सभा कदमतला फूटबल खेल मैदानमा आयोजना गरिनेछ। त्यहाँ मञ्च निर्माण कार्य आरम्भ भइसकेको छ। त्यहाँ झुण्ड्याइने पोस्टर वा फेस्टुनमा पनि यी दुई नेताकै मात्र तस्वीर हुने बताइएको छ।
यसअघि नाटाबारीसहित केही क्षेत्रमा तृणमूलका सभा सम्पन्न भएको थियो। ती सभाहरूमा तृणमूल जिल्ला सभापति अभिजित दे भौमिक, उत्तर बङ्गाल विकास मन्त्री उदयन गुह र सांसद जगदीश चन्द्र बर्मा बसुनियाको तस्वीर राखिएको थियो। एक सभामा यी तीनजनासँगै तृणमूलका कोचबिहार जिल्ला अध्यक्ष गिरिन्द्रनाथ बर्माको पनि तस्वीर राखिएको थियो। तर अन्य जिल्ला नेताहरूको तस्वीर नराखिएको विषयले विवाद भएको थियो। यस विषयमा गिरिन्द्रनाथले भने, कार्यकर्ता सभाहरू स्थानीय नेतृत्वले आयोजना गर्छन् त्यसैले यसमा छुट्टै केही भन्नुपर्ने छैन। तृणमूलको कोचबिहार 1 नम्बर ब्लक अध्यक्ष कालीशङ्कर रायले भने, हामी 20 हजार समर्थकहरूसहित कार्यकर्ता सभा गर्दैछौँ। त्यहाँ मुख्यमन्त्री ममता ब्यानर्जी र अभिषेक ब्यानर्जीको मात्र तस्वीर रहनेछ। हाम्रो क्षेत्रमा कुनै विवाद छैन। यसैबीच तृणमूल नेताहरूको अन्तर्द्वन्द्वले सामाजिक सञ्जाल निकै तात्तिएको छ! कोचबिहारका समर्थकहरू आफ्ना मनपर्ने नेताको पक्षमा सामाजिक सञ्जालमा सक्रिय देखिएका छन्। पुराना भिडियो र अभिव्यक्तिहरूलाई हतियार बनाएर निरन्तर पोस्ट र प्रतिपोस्ट चलिरहेको छ जसबारे पार्टीभित्र चर्चा चलिरहेको छ। विपक्षीहरूले पनि यसलाई खिसिटिउरी गर्ने अवसरको रूपमा प्रयोग गरिरहेका छन्। तर तृणमूलका कोचबिहार जिल्ला अध्यक्ष गिरिन्द्रनाथ बर्माले भने, हामी सबै एकसाथ छौँ। मुख्यमन्त्री तथा दल नेतृत्वले हस्तक्षेप गरेपछि यी सबै विषयहरू आफै समाप्त हुनेछन्।
कोचबिहारमा पार्टीका शीर्ष नेताहरूको एकता प्रदर्शनसितै लोकसभा चुनाउमा एकजुट रहेको तृणमूल अघि बढ़ेको थियो। तर सोही चुनाउ सफलताको एक वर्ष पूरा नहुँदै दुई गुटका केही नेताहरू खुलेर एकार्काविरुद्ध आक्रोश पोख्न थालेका छन्। यसको प्रभाव समर्थकहरूको सामाजिक सञ्जालमा देखिएको पोस्ट र प्रतिपोस्टमा पनि स्पष्ट पारेको छ। दुई गुटका समर्थकहरू पुराना समाचार भिडियोहरू पोस्ट गर्दै एकार्कालाई लक्षित गरिरहेका छन्। कसैले रविन्द्रनाथ घोष र पार्थप्रतिम रायका पुराना अभिव्यक्तिहरूको भिडियो पोस्ट गर्दै निशाना बनाइरहेका छन्। पार्थप्रतिम रायले भने, सामाजिक सञ्जालमा को के गर्दैछन् त्यसको ट्र्याक राख्ने समय नै छैन। रविन्द्रनाथ घोषले भने यसबारे कुनै टिप्पणी गर्न चाहेनन्। यस्तै कसैले उदयन गुह र जगदीश बसुनियालाई लक्षित गर्दै पुराना अभिव्यक्तिका भिडियोहरू पोस्ट गरिरहेका छन्। उदयनले व्यङ्ग्य गर्दै भने, यी सबै गर्नै तिनीहरू आफै थाक्नेछन्। सांसद जगदीश चन्द्र बर्मा बसुनियाले भने यसबारे केही मन्तव्य गर्न चाहेनन्।