एक वर्षपछि भारतले खोल्यो पाम आयलको आयात

प्रतिबन्ध लगाएको १ वर्षपछि भारतले पाम तेलको आयात फुकुवा गरेको छ । भारतको यो कदमसँगै नेपालबाट प्रशोधित पाम आयलको भारत निकासीको बाटो खुलेको उद्यमीहरूले बताएका छन् । भारतको वैदेशिक व्यापार महानिर्देशनालयले मंगलवार सूचना निकालेर पाम आयलको आयात खुला गरिएको जानकारी दिएको हो । भारतले आगामी डिसेम्बर अन्तिम (पुस १६) सम्मका लागि आयात खुलाएको छ । भारतमा खाने तेलको मूल्य वृद्धि भएपछि भारत सरकारले पाम तेलको आयातका लागि नेपाललगायत अन्य मुलुकलाई समेत अनुमति दिएको हो ।

व्यवसायीले बाहिरी मुलुकबाट पाम आयलको कच्चा पदार्थ आयात गरी प्रशोधन गरेर निर्यात गर्ने गर्छन् । गत वर्ष नेपालबाट निर्यात हुनेमा पाम आयल सबैभन्दा धेरै थियो । बेला बेला भारतले पाम आयलको आयातमा प्रतिबन्ध लगाउने र खुलाउने गर्छ ।

भारतले गत वर्ष असारको मध्यमा तेलको आयात रोकेको थियो । भारतले विश्वव्यापी रुपमै तेलको आयात रोकेको थियो । बुधबार सूचना निकालेर विश्वव्यापी रुपमा खुला गरेसँगै स्वदेशी व्यवसायीले पनि निर्यात गर्ने पाउने छन् ।
व्यवसायीले मलेसिया र इन्डोनेसिया लगायतका अन्य तेस्रो मुलुकबाट पाम आयलको कच्चा पदार्थ आयात गरेर पुनः भारत निर्यात गर्ने गर्छन् । तर भारतले पनि छोटो समयको लागी बजार खुला गरेको तथा नेपलाी व्यवसायिले पनि न्यून भ्यालु एड गरेर पठाएकाले पनि पाम आयल निर्यात दीर्घकालिन नहुने व्यापार विज्ञहरु बताउँछन् ।

भारतले तेस्रो मुलुकबाट आयात गरेर जस्ताको तस्तै पाम आयल निर्वाध रूपमा निकासी गर्न दिएको भन्दै नेपालसँग असन्तुष्टी जनाएको थियो । नेपाल–भारत सचिवस्तरीय अन्तर सरकारी समिति (आइजीसी) बैठकमा समेत भारतले असन्तुष्टी जनाएको थियो । बजारमा माग अनुसार यो भारतमा प्रतिबन्ध र खुला हुने गरेको छ ।

साफ्टा सम्झौताको फाइदा उठाउँदै नेपालका उद्योगीले चार वर्षअघि शून्य भन्सार महशुलमा पाम तेल भारततर्फ निकासी गर्न थालेका थिए । नेपालबाट साफ्टा अन्तर्गत पाम तेल निर्यात गर्दा भारतमा वस्तु तथा सेवा कर (जिएसटी) बापत १२ प्रतिशत तिर्नुपथ्यो । जिएसटीको उक्त रकम भारतीय क्रेताले तिर्ने हुँदा नेपाली व्यवसायी कर र शुल्कबाट पूर्णतः मुक्त थिए । भारतले नेपालबाट निकासी हुने वस्तुमा प्रश्न उठाएको पाममा मात्र पहिलो पटक भने होइन ।

गत वर्ष पाम आयलको आयातमा प्रतिबन्ध लगाएपछि व्यवसायीले भटमासको कच्चा पदार्थ आयात गरी प्रशोधन गरेर निर्यात गर्न थालेका छन् । भन्सार विभागको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको ११ महिनामा भटमासको तेलको कारणले निर्यातमा ३७ प्रतिशत बढेर १ खर्ब २१ अर्ब पुगेको छ । सो अवधिमा भटमासको तेलको निर्यातमा ३१८ प्रतिशत अर्थात् ४२ अर्ब ३५ करोड रुपैयाँको निर्यात भएको छ । सो अवधिमा ४५ अर्ब ५९ करोड ९४ लाख ३० हजार रुपैयाँको भटमासको कच्चा पदार्थ आयात भएको थियो ।

By Editor

Leave a Reply

Your email address will not be published. Required fields are marked *