तालिबानद्वारा सीमा पारी अर्को एउटा पोस्ट कब्जा, अफगान सैनिक इरान भागे

तालिबानले इरानसँग जोडिएको सीमास्थित इस्लाम कला शहरको महत्वपूर्ण बोर्डर क्रसिङमा बिहिबार कब्जा गरेको अफगानिस्तानको हेरात प्रान्तबाट आइरहेको खबरमा उल्लेख गरिएको छ ।

तालिबानका प्रवक्ता जबिहुल्लाह मुजाहिदले ट्वीट गर्दै यो कुराको दाबी गरेका हुन् ।

यद्यपि, अफगान अधिकारीले अहिलेसम्म यसबारे आधिकारिक रुपमा कुनै टिप्पणी गरेको छैन ।

तर समाचार एजेन्सीले नाम नखुलाइएका अधिकारीलाई उद्धृत गर्दै यसबारे जानकारी दिएका छन् ।

दुई वरिष्ठ सुरक्षा अधिकारीले समाचार एजेन्सी रोयटर्ससँगको कुराकानीमा सीमा पोस्टमा कब्जापछि अफगान सुरक्षाकर्मी र कस्टम अधिकारी इरानी सीमामा भागेको जानकारी दिएका छन् ।

इरानको अरबी भाषाको अल–आलम टिभीले पनि अफगान सैनिकले सीमा पार गरेको बताएको छ ।

यद्यपि, गृहमन्त्रालयका प्रवक्ता तारिक एरिनले यो खबरलाई खण्डन गर्र्दै पोस्ट अहिले पनि अफगान बलको हातमा भएको दाबी गरेका छन् ।

यसअघि हेरतमा एक नाम नखुलाईएका अधिकारीले बीबीसीसँगको कुराकानीमा इस्लाम कलाको स्थिति गम्भीर भएको बताए ।

ताजिकिस्तानको सीमासँग जोडिएको शेरखान र अकिया सीमा क्रसिङमा कब्जापछि तालिबानको कब्जामा आएको यो तेस्रो बोर्डर क्रसिङ हो ।

इस्लाम कला इरान र अफगानिस्तानबीच एक महत्वपूर्ण आर्थिक सीमा हो जो हेरातबाट पाँच किलोमिटर टाढा छ ।

केही दिन अघि पनि इस्लाम कलाको कुदुसाबाद बजारमा तालिबानको हमलाको खबर आएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *