बङ्गाल विश्व व्यापार सम्मेलनमाथि उत्तरको गिद्धे नजर

जतिसुकै प्रस्ताव दिइए पनि वा निवेशको आश्वासन प्राप्त भए पनि उत्तर बङ्गालका चिम्नीहरूबाट धुवाँ नउठ्ने स्पष्ट छ। यस्तो सन्देश पाएपछि यहाँका उद्योग-वाणिज्य सङ्गठनहरूले पर्यटन उद्योगमाथि नै जोड़ दिइरहेका छन्। बुधवार कोलकातामा बङ्गाल विश्व व्यापार सम्मेलन आरम्भ भइरहेको छ। स्वाभाविक रूपमा मुख्यमन्त्री ममता ब्यानर्जीको उपस्थितिमा यो कार्यक्रम अघि बढ्नेछ। यही मञ्चमा उत्तर बङ्गालको पर्यटनलाई विशेष रूपमा प्रस्तुत गर्ने प्रयास गरिनेछ। यस अवसरलाई प्रयोग गर्दै हिमालयन हस्पिटालिटी एण्ड टुरिज्म डेभलपमेण्ट नेटवर्क (एचएचटीडीएन)ले विभिन्न प्रस्तावहरू अघि सार्नेछ भने इण्डियन च्याम्बर अव् कमर्स (आईसीसी) र कन्फेडेरेशन अव् इण्डियन इण्डस्ट्रीज (सीआईआई) ले पनि पर्यटनलाई प्राथमिकता दिने तय छ किनभने पर्यटन नै उत्तर बङ्गालको जीवन रेखा हो।
बङ्गाल विश्व व्यापार सम्मेलनमा उत्तर बङ्गालमाथि पनि ध्यान केन्द्रित हुनेछ। यहाँका आठ जिल्लाका लागि कस्ता कस्ता प्रस्ताव आउने हो र राज्य सरकारको दृष्टिकोण के छ भन्ने जान्न उत्तर बङ्गाल उत्सुक छ। साथै अवसर पाए व्यापार सम्मेलनमा भाग लिने विभिन्न सङ्गठनहरूले आफ्ना विकास सम्बन्धी विचार र आवश्यकताहरू राख्नेछन्। यद्यपि बुधवार सम्मेलनको उद्घाटन समारोहमा त्यस्तो अवसर नमिल्ने सम्भावना बढ़ी छ। तर बिहीवार विभिन्न क्षेत्रगत बैठकहरूमा प्रस्ताव दर्ता गर्न र ती प्रस्तावका महत्त्वपूर्ण पक्षहरूबारे छलफल गर्ने अवसर मिल्न सक्ने सम्भावना छ।
अहिले उत्तर बङ्गालको अर्थतन्त्रको मेरुदण्ड पर्यटन नै हो। यही कारण राज्य सरकारले विभिन्न तालिमको व्यवस्था गर्दै धार्मिक तथा सांस्कृतिक महत्त्वका स्थलहरूलाई समेटेर टुरिजम सर्किट निर्माण गर्ने दिशामा कार्य गरिरहेको छ। यसै सन्दर्भमा एसएसटीडीएनका महासचिव सम्राट सन्यालले भने, उत्तर बङ्गाल सम्बन्धी राज्यको नयाँ सोच वा योजना बुधवार केही थाहा पाउने आशा गरेका छौँ। बिहीवारको क्षेत्रगत बैठकमा अवसर मिले यहाँका होमस्टेहरूको अझ सुधारका विषयमा छलफल गर्नेछौँ। पर्यटन केवल भ्रमण, बसाइ र फिर्तामा सीमित रहनु हुँदैन। हामी स्थानीय समुदायसित पर्यटकको घनिष्ट सम्बन्ध स्थापनामाथि जोड़ दिइरहेका छौँ। साथै कौशल विकास, बर्ड वाचिङ गाइड तालिमका विषयबारे पनि कुरा उठाउनेछौँ। हामी उत्कृष्ट पर्यटन प्रवर्द्धन गर्न चाहन्छौँ।

By Piyali Poddar