उत्तर कोरियाका नेता किम जङ-अनले आफ्नो देशले संयुक्त राज्य अमेरिकासँग “वार्ता र मुठभेड” दुवैका लागि तयारी गर्नुपर्ने टिप्पणी गरेका छन्।
उनले विशेषतः आफूहरू “मुठभेडको अवस्थाका लागि पूर्ण रूपमा तयार भएर बस्नुपर्ने” बताएका छन्।
किम जङ-अनले राष्ट्रपति जो बाइडनको प्रशासनबारे प्रत्यक्ष टिप्पणी गरेको यो पहिलो पटक हो।
उत्तर कोरियाले यसअघि नयाँ अमेरिकी सरकारले कूटनीतिक संवाद गर्न खोजेको प्रयासलाई बेवास्ता गरेको थियो।
सर्वोच्च नेता किम जङ-अनले प्योङ्याङमा देशका वरिष्ठ नेताहरूलाई सम्बोधन गर्दै वार्ता र भिडन्तका कुरा गरेका हुन्।
सत्तारूढ वर्कर्स पार्टीको केन्द्रीय कमिटीको बैठक राजधानी प्योङ्याङमा यसै हप्ता आरम्भ भएको थियो।