हिमाचल प्रदेशमा पर्यटक गाडीमा पहिरो बजारिँदा नौ जनाको मृत्यु

आइतवार भएको उक्त घटनामा अन्य तीनजना घाइते भएका छन्।

घटनास्थलमा खिचिएको तथा सामाजिक सञ्जालमा प्रेषित भिडिओमा एउटा पहाडबाट पहिरो खसेको र ठूलाठूला ढुङ्गा एउटा पुलमा बजारिएको देखिन्छ।

बटसेरी-साङ्गला मार्गमा अचानक पहाडमा विस्फोट भएको जस्तो सुनिएको अनि धूलो उडेको देखिएको। त्यसपछि तीव्र गतिमा ढुङ्गाहरू तल खस्न थालेका थिए।

हिमाचल प्रदेशका मुख्यमन्त्री जयराम ठाकुरले उक्त घटनालाई “हृदयविदारक” भनेका छन्।

रोकेर राखिएका सवारीसाधनमा ठूला ढुङ्गाहरू बजारिएको अनि त्यसपछि पुल भत्किएको दृश्य ट्विटरमा प्रेषित भिडिओमा देखिन्छ। उक्त घटना किन्नौर जिल्लामा भएको हो।

देशका प्रधानमन्त्री नरेन्द्र मोदीले शोक प्रकट गर्दै मृतकका परिवारजनप्रति समवेदना व्यक्त गरेका छन्।

दिल्लीबाट हिमाचलको प्रसिद्ध चितकुल गाउँ घुम्न जान गएका मानिसहरू उक्त गाडीमा भएको हिन्दुस्तान टाइम्स पत्रिकाले जनाएको छ।

के कारण पहिरो गयो भन्ने स्पष्ट नभए पनि ठूलो वर्षाको पूर्वानुमान गरिँदा पहिरोबारे चेतावनी जारी गरिएको थियो।

उक्त घटना भएको बेला पानी भने परेको थिएन।

अहिले मनसुन सक्रिय भएको बेला भारतका विभिन्न स्थानमा बाढी र पहिरोले दुःख दिएको छ।

पश्चिम भारतको महाराष्ट्रमा वर्षाका कारण सयौँ गाउँहरू प्रभावित भएका छन्।

अहिलेसम्म त्यहाँ कम्तीमा १३६ जनाको मृत्यु भइसकेको तथ्याङ्क प्रकाशित भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *