म्यान्मारकी नेत्री आङ सान सु की पहिलो पटक अदालतमा स्वयं उपस्थित हुनुभएको छ

गत फेब्रुअरी १ तारिखका दिन सत्ताच्युत गरिएकी सु कीलाई त्यसयता सेनाले विभिन्न आरोपमा गिरफ्तार गरी जेलमा राखेको थियो ।
उहाँका एक जना वकिल मिन मिन सो ले टेलिफोनमा बताए अनुसार सु कीलाई राजधानी न्यापिटअस्थित नगर परिषद् भवनमा स्थापना गरिएको विशेष अदालतमा उपस्थित हुनुअघि आफ्ना वकिलहरुसँग भेट गर्न दिइएको छ ।
कानुन व्यवसायीहरुले अपदस्थ राष्ट्रपति विन मिन्टसँग पनि भेटघाट गरेका छन् । मिन्ट विरुद्ध पनि सु कीका झैं आरोपहरु लगाइएका छन् । सु की विरुद्ध धेरैवटा फौजदारी अभियोग लगाइएको छ । यसअघि सु कीलाई भिडियो लिङ्क मार्फत अदालती सुनुवाइ गरिएको थियो । उहाँलाई कुनै पनि कानुन व्यवसायीसँग भेटघाट गर्न दिइएको थिएन ।
कानुन व्यवसायी मिन मिन सो ले म्यान्मारका जनताप्रति सु की ले सन्देश पठाउँदै नेसनल लिग फर डेमोक्रेसी पार्टी (एनएलडी) जनताको अधिकारको पक्षमा सदा झैं अटल भएर उभिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
सुनुवाइपछि मिन मिनले भन्नुभयो, “सुकीले अदालतमा आम बर्मेली जनताको सुस्वास्थ्य र भलाइ होस् भन्नुभयो, र एनएलडी जनताको पार्टी भएकाले जनता रहेसम्म एनएलडी सदा जीवित रहनेछ ।”
मिन मिनले भन्नुभयो, “सु की स्वस्थ र आत्मविश्वासपूर्ण देखिनुभएको छ । सोमबारको सुनुवाइमा सु की विरुद्ध लगाइएका मुख्यतः छ वटा फौजदारी मुद्दामाथि केन्द्रित रहेर सोधपुछ गरिएको थियो ।
उहाँमाथि सन् २०२० को चुनावी अभियानका क्रममा कोभिड–१९ का नियमहरु उल्लङ्घन गरेको, सु कीका अङ्गरक्षकका लागि वाकी–टाकीहरु गैरकानुनी रुपमा आयात गरेको, रेडियोको लाइसेन्स नलिएको तथा सार्वजनिक अस्थिरता फैलाउने गरी समाजमा भ्रम फैल्याएको आरोप छ ।
सु की माथि लगाइएको सबैभन्दा गम्भीर आरोप उपनिवेशकालीन सरकारी गोप्यत सम्बन्धी ऐनको उल्लङ्घन हो । यस कानुनको उल्लङ्घन गर्नेमाथि १४ वर्षसम्मको जेल सजाय हुन सक्दछ र यस मुद्दाको सुनुवाइ अर्कै अदालतले हेर्दैछ ।
सु की का समर्थकहरुले अदालती सुनुवाइ राजनीतिक प्रेरित रहेको बताउँदै आएका छन् । उनीहरुको भनाइमा सेनाले आफूले सत्ता हत्याएको कुरा प्रमाणित गर्न चाहिरहेको छ । यी मुद्दाहरुमा सु की दोषी ठहर भए आगामी एक वा दुई वर्षभित्र सेनाले गराउने भनिएको चुनावमा सु कीलाई उठ्न दिइने छैन ।

By Editor

Leave a Reply

Your email address will not be published. Required fields are marked *