नगरनिगम चुनाउ १२ फरवरीमा हुने

चार नगरनिगमहरूको चुनाउबारे सबै अड़कलबाजी समाप्त भएको छ पूर्व घोषित यी चार नगरनिगमहरूको चुनाउ ३ हप्ता पछि सारियो । त्यसैले अब नगरनिगमहरूको चुनाउ आगामी १२ फरवरीको दिन सम्पन्न हुनेछ यसभन्दा अघि सिलगढ़ी, विधाननगर, चन्दननगर अनि आसनसोल नगरनिगमहरूको चुनाउ २२ जनवरी सम्पन्न गरिने राज्य चुनाउ आयोगले घोषणा गरेको थियो । त्यसरी मतगणना २५ जनवरीको दिन सम्पन्न गर्ने पनि घोषणा भएको थियो। अब चुनाउ १२ फरवरीको दिन सम्पन्न हुने भए पनि राज्य चुनाउ आयोग सूत्रअनुसार नयाँ गरेर मनोनयन जमा गरिने छैन । आजसम्म लागु आचार संहिता यथावत रहनेछ। जारी गरिएका सबै कोभिड विधिहरू पनि यथावत नै रहनेछन् केवल प्रचारका लागि प्रार्थीहरूले अधिक समय पाएका छन् अगावै लिइएको निर्णय अनुसार बाँकी नगर पालिकाहरूको चुनाउ २७ फरवरी तय छ।

पश्चिम बङ्गाल राज्यमा द्रुत गतिमा कोरोना सङ्क्रमण वृद्धि भइरहेको छ । कोरोनाको यस्तो परिस्थितिमा उच्च न्यायालय, राज्य चुनाउ आयोग अनि राज्य सरकारले संयुक्त रूपमा चर्चा गरेपछि यी चारै नगरनिगमहरूको चुनाउलाई पछि सार्ने निर्णय लिइएको हो। शुक्रवार राज्य चुनाउ आयोगले यो निर्देशिका घोषणा गरेपछि विभिन्न दलहरूबाट मिश्रित प्रतिक्रिया आइरहेको छ । चुनाउ आयोगको यस निर्णयलाई सत्तारूढ़ दल तृणमूलका सांसद स्वागत रायले स्वागत जनाएका छन् । सांसद रायले भने, यो सही निर्णय हो । मतदान राम्रो प्रकारले हुनेछ भन्ने हाम्रो आशा छ ।

मतदान शान्तिपूर्ण हुनेछ । विपक्षीहरूले जे भने पनि त्यससित हाम्रो चासो छैन। तिनीहरू भोटमा उठ्लान् तर मत पाउने छैनन्। राज्य भाजपा अध्यक्ष सुकान्त मजुम्दारले भने, हामीले धेरै अघि नै यसबारे दाबी गरेका थियौँ। हाम्रो एउटा भनाइ छ गरीबको कुरा बासी हुँदा नै सुनिन्छ । सीपीएम नेता सुजन चक्रवर्तीले भने, घोषणा भएकै दिन हामी तारिख गलत छ भनेर बताएका थियौं । २३ जनवरी सुभाषचन्द्र बोसको जयन्ती, २६ जनवरी प्रजातन्त्र दिवस तब कसरी २२ जनवरीको दिन मतदान गर्नु ? चुनाउ आयोग राज्य सरकारको औँलीमा नाँचिरहेको तिनले आरोप पनि लगाए। यता फरवरीमा मतदान गरिए पनि कोरोना सङ्क्रमणलाई कतिसम्म अङ्कुश लगाउन सकिएला भनी आशङ्का जाहेर गरेका छन् कङ्ग्रेस नेता प्रदीप भट्टाचार्यले ।

यद्यपि सिलगढ़ीमा भने सबै दलहरूले चुनाउ आयोगको यस निर्णयलाई स्वागत जनाएका छन्। पूर्व मन्त्री गौतम देवले भने, वर्तमान कोरोना परिस्थितिलाई ध्यानमा राख्दै उच्च न्यायालय, चुनाउ आयोग अनि राज्य सरकारले संयुक्त चर्चा गरेर चुनाउलाई पछि सार्ने निर्णय लिइएको छ । हामी यस निर्णयलाई स्वागत जनाउँदछौँ । विशेषज्ञहरूले चर्चा गरेर यो निर्णय लिएका हुन् । अब यहाँ सही अथवा गलत भन्ने ठाउँ रहँदैन । यस निर्णयलाई स्वागत गर्दै हामी १२ फरवरी हुने चुनाउको तयारीमा जुट्नेछौं।

Leave a Reply

Your email address will not be published. Required fields are marked *