मेडिकलबाट बेपत्ता बहिनी

बहिनीलाई रगत परीक्षणको लाइनमा उभ्याएर टिकट लिन गएका भाइले फर्केर आउँदा आफ्नी बहिनीलाई भेटेनन्। क्रान्तिका वासिन्दा उक्त युवकले सोचे बहिनी सायद लाइनमा अघि बढ़ेकी होलिन्। तर तिनको अनुमान गलत प्रमाणित भयो। लाइनको आरम्भदेखि अन्त्यसम्म खोज्दा पनि बहिनीलाई कतै देखिएन। उक्त घटनाले उत्तर बङ्गाल मेडिकल कलेज औ अस्पतालमा खलबली मच्चियो। बहिनीलाई नभेटेपछि आत्तिएको भाइले रुँदै बहिनीलाई यताउता खोज्न थाले। त्यस्तो मार्मिक दृश्य देखेर स्थानीय व्यापारीहरू पनि चुपो लागेर बस्न सकेनन्। युवतीको फोटो हेरेर तिनीहरूले पनि खोज्न आरम्भ गरे। तर पनि बहिनीलाई कतै भेटिएन। यसैबीच बेलुकी एउटा अपरिचित नम्बरबाट भाइको फोनमा कल आयो। फोनको अर्को छेउबाट आवाज आयो, ‘मैले तपाईँकी बहिनीलाई विवाह गरेँ। कुराकानी समाप्त नहुँदै फोन काटियो। त्यसपछि उक्त नम्बरमा सम्पर्क गर्न खोज्दा उक्त फोन बन्द भयो।

के साँच्चै उक्त युवती कसैसँग भागेकी हुन्? कि कसैले तिनलाई अपहरण गरेको हो? यसको उत्तर क्रान्तिको परिवारसित पनि छैन। घटनाको खबर पाएर दिउँसो परिवारका धेरै सदस्यहरू मेडिकलमा आइपुगे। भाइले भने, ‘मेडिकल कलेजको लाइनमा मेरी बहिनी उभिएकी थिइन्। त्यहाँको सिसिटिभी फूटेज राति हेर्न नपाइने रे। त्यसैले बहिनी कहाँ गइन्, कोसित गइन् भन्ने थाहा पाउन सकिरहेको छुइनँ।’

मतिगढ़ा थानाका आईसी अरिन्दम भट्टाचार्यले भने, ‘अस्पताल परिसरमा एउटा सिसिटिभी क्यामेरा जड़ान गरिएको छ। त्यसको निगरानी अस्पतालले नियुक्त गरेको एउटा अपरेटिङ टोलीले गर्छ। टोलीका सदस्यहरू राति जलपाइगढ़ी जान्छन्, त्यसैले बिहान मात्र फूटेज हेर्न सकिनेछ।’
यता युवतीका दाजुले भने, ‘जुन नम्बरबाट फोन आएको थियो त्यस नम्बरलाई ट्र्याक गरिदिनुहोस् भनेर हामीले विन्ती गर्यौँत।’ यति ठूलो घटना हुँदा पनि मेडिकल कलेज औ अस्पतालका सुपर डा. सञ्जय मल्लिकले भने आफूलाई यसबारे केही थाहा नभएको बताए। मल्लिकले भने, ‘म आज दिनभरि आफ्नो कोठामै थिएँ। यस्तो केही भएको मलाई थाहा छैन। कसैले मलाई यसबारे रिपोर्ट पनि गरेको छैन।’

गत महीना 29 तारिख स्वास्थ्य जाँच गराउन भाइले बहिनीलाई मेडिकल ल्याएका थिए। पेटको समस्याले गर्दा चिकित्सकले केही परीक्षण गर्ने निर्देश दिएका थिए। आज बिहान अल्ट्रासोनोग्राफी गराइयो। त्यसपछि रगत परीक्षणको लाइनमा उभ्याएर टिकट लिन गएको बेला यस्तो घटना भयो।

By Piyali Poddar