मेडिकलमा फोहोर व्यवस्थापन परियोजना

उत्तर बङ्गाल मेडिकल कलेज औ अस्पतालमा फोहोर व्यवस्थापन सम्बन्धी समस्या समाधानका लागि सिलगढ़ी महकुमा परिषदका सभापति अरुण घोषले स्थायी समाधानको आश्वासन दिएका छन्। सोमवार मेडिकल कलेजमा प्लास्टिक बोतल क्रश गर्ने मसिन उद्घाटन कार्यक्रममा तिनले यसबारे बताएका हुन्। उद्घाटनपछि सभापति घोषले भने, मेडिकल कलेज ठूलो क्षेत्र हो। यहाँको वातावरण सफा राख्न आवश्यक छ। यसका लागि सिलगढ़ी नगर निगमसित समन्वय गरेर महकुमा परिषदले आवश्यक कदम उठाउनेछ। साथै मेडिकलमा सलिड वेष्ट म्यानेजमेण्ट परियोजना बनिरहेको छ जुन चाँड़ै नै आरम्भ हुनेछ। यस परियोजनाले फोहोरलाई वर्गीकरण गरेर व्यवस्थापन गर्नेछ। त्यस्तै मेडिकल कलेजमा खानेपानी समस्याको समाधानका लागि पनि महकुमा परिषदले पहल गर्नेछ।
कार्यक्रममा अस्पतालका सुपर सञ्जय मलिक, डेपुटी सुपर सुदीप्त मण्डल, मतिगढ़ा पञ्चायत समितिका उपाध्यक्ष भोला घोष, मतिगढञ़ा-1 ग्राम पञ्चायतका प्रमुख कृष्ण सरकारलगायत अन्य अधिकारीहरू उपस्थित थिए। यसबारे चर्चा गर्दा यो पनि उल्लेखनीय छ कि यस वर्षको आरम्भदेखि नै उत्तर बङ्गाल मेडिकल कलेजमा फोहोर व्यवस्थापनको समस्या देखिएको थियो।

लगभग दस वर्षअघि सिलगढ़ी नगर निगमले एकपल्ट मेडिकल कलेज सफा गरे पनि त्यसबापदको भुक्तानी अहिलेसम्म नगरिएको कारणले निगमले सफाईको जिम्मा लिन छोड़ेको थियो। यसकारण मेडिकल कलेज परिसरमा फोहोर थुप्रिन थालेको थियो। बिमारी तथा अन्य व्यक्तिहरूले विरोध गर्दा मात्र केही फोहोर जेसीबीको सहायताले हटाइने गरिन्थ्यो। तर अहिले महकुमा परिषदको पहलमा फोहोर व्यवस्थापनको काम आरम्भ भएपछि मेडिकल कलेज परिसरमा रहेका सबैजनाले राहत अनुभव गरेका छन्।

By Piyali Poddar