आजदेखि अलिपुरद्वार जिल्लाको कालचिनी ब्लकस्थित मेचपाड़ा चियाबारी अन्ततः फेरि खोलिएको छ। चियाबारी खोलिएपछि बिहीवार बिहान चियाबारीको काममा फर्किएका श्रमिकहरूको मुहारमा मुस्कान देखियो। गत 9 जनवरीको दिन मेचपाड़ा चियाबारीको व्यवस्थापनले चियाबारी बन्द गरेको थियो। त्यसपछि गत मङ्गलवार श्रम विभागले त्रिपक्षीय बैठक आयोजना गर्योि। उक्त बैठकमा चियाबारी पुनः खोल्ने निर्णयमा सहमति बनियो र चियाबारी आज बिहानदेखि पुनः सञ्चालनमा आएको छ। चियाबारी फेरि खोलिएपछि श्रमिकहरूको मुहारमा मुस्कान देखिएको छ। मुख्यमन्त्री ममता ब्यानर्जीको अलिपुरद्वार भ्रमणको क्रममा जिल्लामा दुई चियाबारी पुन खोलिसकेका छन्। प्राप्त जानकारीअनुसार, मदारीहाट ब्लकस्थित दलमोर चियाबारी बुधवार खोलियो। त्यसबाहेक तीन अन्य चियाबारी– तोर्षा, कालचिनी र राइमाताङ पनि 20 जनवरीमा खोलिए।
मुख्यमन्त्री ममता ब्यानर्जीको भ्रमणको केही दिनअघि अलिपुरद्वार जिल्लाका चार बन्द चियाबारी फेरि खोलिए जसले स्थानीय चिया उद्योगमा ठूलो प्रगति ल्याएको छ। भारत-भूटान सीमानजिक रहेको कालचिनी ब्लकको तोर्षा चियाबारी साथै कालचिनी र राइमाताङ चियाबारी बिहानदेखि अपराह्नसम्म क्रमशः सञ्चालनमा आए। यसबाहेक मदारीहाट-बीरपाड़ा ब्लकको दलमोर चियाबारी पनि सफल त्रिपक्षीय बैठकपछि पुनः खोलिएको छ। हालै बन्द भएको मेचपाड़ा चियाबारी सम्बन्धी अर्को त्रिपक्षीय बैठक मङ्गलवार भयो अनि बिहीवारदेखि उक्त चियाबारी पनि खोलिएको छ। तोर्षा चियाबारीलाई अलिपुरद्वारस्थित माझेरडब्री चियाबारीको व्यवस्थापनले ग्रहण गरेको छ। कालचिनी र राइमाताङ चियाबारी अब मर्चेण्ट मङ्गर एग्रोटेक प्राइभेट लिमिटेडद्वारा सञ्चालित छन् जसले जलपाइगढ़ी जिल्लाका अन्य दुई चियाबारीको पनि व्यवस्थापन गर्दछ। कम्पनीका निर्देशक ऋत्विक भट्टाचार्यले भने: हामीले राज्यको वर्तमान एसओपी अनुसरण गरेका छौँ र चियाबारी व्यापार सङ्घसँग द्विपक्षीय सम्झौता गरेका छौँ। श्रमिकहरूको बाँकी तलब र बोनस सम्झौताअनुसार चरणबद्ध रूपमा भुक्तान गरिनेछ।
यसैबीच, दलमोर चियाबारी सम्बन्धी त्रिपक्षीय बैठक सोमवार दिउँसो अलिपुरद्वार जिल्ला प्रशासन भवन डुआर्स कन्यामा आयोजना गरिएको थियो, जहाँ चियाबारी खोल्ने निर्णय गरियो। संयुक्त श्रम आयुक्त गौतम विश्वासले यी चियाबारीहरूको भविष्यप्रति आशा व्यक्त गर्दै भने, आगामी दिन प्रत्येक चियाबारीले प्रगति गर्नेछ भनेर हामी विश्वस्त छौँ। राज्यसभा सांसद प्रकाश चिक बराइकले मुख्यमन्त्रीप्रति आभार व्यक्त गर्दै भने, मुख्यमन्त्री ममता ब्यानर्जी र श्रम मन्त्री मलय घटकलाई धन्यवाद। बन्द चियाबारीहरू छिट्टै खोलिए। यदि कुनै चियाबारी मालिकले जानीजानी लगातार तीन महीनासम्म चियाबारी बन्द गरे तिनीहरूमाथि कानूनी कार्वाही गरिनेछ जसमा लिज रद्द पनि समावेश छ।