गाईको मृत्युमा अनेकौ प्रश्न

भारत नेपाल सीमा ओकेटी चियाबारीको खड्का गाउँनजिक बाटोमै बिमारी अवस्थामा गाई छोड़िएको थियो। आज 21 दिनपछि उक्त गाईको मृत्यु भएको छ। अहिले यस घटनाबारे निकै चर्चा चुलिएको छ। धेरै प्रयास र उपचार गरे पनि अन्ततः गाईको मृत्यु भएपछि उक्त गाई कसको हो अथवा कसले ल्याएर गाईलाई बाटोमै छोड़िदियो भन्ने प्रश्न रहस्य नै बनेको छ। धेरै मानिसहरूले गाई नेपालबाट भारत ल्याइएको अनि यो गाई तस्करीको मामिला हुन सक्ने आशङ्का व्यक्त गरेका छन्।

कसैले पाल्न ल्याइएको भए वा गाँउबाट चरणमा गएको गाई भए मालिक देखा पर्थे। तर 21 दिनसम्म गाईले जीवन र मृत्युमाझ सङ्घर्ष गरिरहँदा पनि गाई मालिक ननिस्केपछि आशङ्का अझ गहिरो बनेको थियो। बिमारी अवस्थामा बाटोमै छोड़िएको गाई मरेपछि धेरै शङ्काहरू उब्जिएका छन्। सीमा क्षेत्रमा गाईको तस्करी! गोरुको नाममा गाईको मासु बेचबिखन! खुल्ला सीमाको फाइदा उठाउनेहरूको गोरख धन्धा! यस्ता अनेकौँ प्रश्नहरू अहिले उठिरहेका छन्।

यति दिनसम्म गाईको मालिकबारे केही जानकारी नआउँदा वास्तविक घटना के हो भनेर कसैले भन्न सकिरहेको छैन। बाटोमै अलपत्र छोड़िएको गाईको मृत्यु भएपछि अधिकांश मानिसहरूले नै अबउसो यस्तो घटना दोहोरिनु नहुने बताइरहेका छन्। यस घटनापछि एसएसबीले पनि अब सीमा क्षेत्रमा कठोर निगरानी गरिरहेको हुँदा भविष्यमा यस्तो घटना नदोहोरिने विषयमा मानिसहरू आशावादी रहेका छन्।

By Piyali Poddar