महाकाल मन्दिर : जमीनका लागि मन्त्री परिषदको स्वीकृति

मुख्यमन्त्री ममता ब्यानर्जीको घोषणाअनुसार उत्तर बङ्गालमा महाकाल मन्दिरका लागि जमीन हस्तान्तरण गर्न मन्त्री परिषदले हरियो झण्डी देखाएको छ। सोमवार बसेको राज्य मन्त्री परिषदको बैठकमा निर्णय गरिएअनुसार यो मन्दिर सिलगढ़ीको मतिगढ़ामा निर्माण गरिनेछ। यसका लागि उजानु मौजामा लगभग 25 ऐकर र गौड़चरन मौजामा लगभग 4 ऐकर जमीन सिलगढ़ी–जलपाइगढ़ी डेभलपमेण्ट अथोरिटीलाई उपलब्ध गराइनेछ। यससितै शहर र गाउँ क्षेत्रमा थप सड़क निर्माण परियोजनाहरूलाई पनि अनुमोदन दिइएको छ।

बाङ्गलार बाड़ी परियोजनाका लागि पनि थप बजेट विनियोजन गरिँदैछ।मन्त्री परिषदको बैठकपछि पत्रकार सम्मेलन गर्दै राज्यकी अर्थमन्त्री चन्द्रिमा भट्टाचार्यले भनिन्, मतिगढ़ाको लक्ष्मी टाउनशिपस्थित 25.15 ऐकर जमीन लिज होल्डरको हातबाट सरकारको स्वामीत्वमा आउनेछ। त्यसमध्ये 17.41 ऐकर जमीन भूमि तथा भूमि सुधार विभागमार्फत पर्यटन विभागलाई हस्तान्तरण गरिनेछ। बाँकी जमीन पनि क्रमशः पर्यटन विभागको जिम्मामा जानेछ। त्यो जमीन सिलगढ़ी–जलपाइगढ़ी डेभलपमेण्ट अथोरिटीलाई हस्तान्तरण गरिनेछ। तर मन्दिर कसले निर्माण गर्ने भन्ने निर्णय भने अझै भइसकेको छैन। मन्दिर निर्माणसितै उक्त क्षेत्रमा पर्यटन वृद्धि हुने राज्य सरकारको अपेक्षा छ।

यसै गरी डाबग्राम मौजाको 10 ऐकर क्षेत्रमा एउटा अत्याधुनिक कन्भेन्सन सेण्टर बनाइनेछ। यी कामहरू आगामी जनवरीमै सम्पन्न गर्ने लक्ष्य राखिएको छ।पथश्री परियोजनामा पनि शहर तथा ग्रामीण क्षेत्रमा सड़क निर्माणको कार्य तीव्र गतिमा बढ़िरहेको मन्त्रीले बताइन्। प्रस्तावित 15011 किलोमिटर सड़कमध्ये 9000 किलोमिटर काम पूरा भइसकेको छ। बाँकी 5019 किलोमिटरमा काम जारी छ। अर्कातिर 11365 किलोमिटर शहरी सड़क निर्माण तथा मरम्मतीको कार्य पनि द्रुत गतिमा अघि बढ़िरहेको छ। बाङ्गलार बाड़ी परियोजनामा केन्द्रले वञ्चना गरेको तिनले आरोप लगाइन्। अहिलेसम्म 12 लाख घर निर्माण भइसकेका जानकारी गराउँदै आगामी जनवरीभित्र थप 16.22 लाख घरहरू निर्माण हुने तिनले थप बताइन्।

By Piyali Poddar