मिरिक महकुमाअन्तर्गत थर्बु नन्दलाल गाउँ निवासी उद्यमी फूल कृषक जेएस साङपाङ राईले प्राकृतिक अर्किडलाई संरक्षण गर्दै आइरहेका छन्। लामो समयदेखि फूल र सागसब्जी खेतीलाई व्यावसायिक रूपमा अँगालेका राईको नर्सरीमा अहिले लगभग एक हजार प्राकृतिक अर्किडहरूले ढकमक्क फुलेका छन्। यी प्राकृतिक अर्किडहरूलाई हालसम्म बिक्री नगरे पनि यदि कोही ग्राहक आए बिक्रीबारे विचार गर्ने राईले बताएका छन्। राईले बताएअनुसार एक समय सबैले प्राकृतिक अर्किड नै रोप्ने गर्थे। तर क्लोन र हाइब्रिड अर्किडको उत्पादन हुन थालेपछि धेरैले प्राकृतिक अर्किड रोप्न छोड़िसकेका छन्। यसकारण आफूले यसको महत्त्व बुझेर आजसम्म प्राकृतिक अर्किडको संरक्षण गरिरहेको तिनी थप बताउँछन्।
अहिले धेरै मानिसहरूले प्राकृतिक अर्किड खोज्न थालेका जानकारी गराउँदै राईले भने, यसको बजार र भाउ पनि राम्रो छ। प्राकृतिक अर्किडलाई साधारण मलजलले पनि हुर्काउन सकिने तिनले जानकारी दिए। राईले प्राकृतिक अर्किडबाहेक सिजनल फूल एजिला, विभिन्न मौसमी फूलहरू, हाउस प्लाण्ट र सागसब्जी उत्पादन गरी राम्रो आम्दानी गरिरहेका छन्।
प्राकृतिक अर्किडको संरक्षणमा तिनको समर्पण र व्यावसायिक सफलता दुवै प्रशंसानीय छ। कुनै सरकारी सहयोग र सहुलियतबिना आफ्नै परिश्रम र लगानीमा कृषि अनि बागवानी गरिरहेको तिनले बताए। यता कृषि अनि बागवानीमा लागेका कृषकहरूलाई सरकारले उचित सहयोग र सहुलियत प्रदान गरे धेरै असल हुने तिनले मन्तव्य पोखे। फूल अनि सागसब्जीको खेती गरेर बेरोजगारहरूले रोजगारको व्यवस्था गर्न सके उत्तम हुने पनि राईले सुझाउ दिएका छन्।
