‘कोभिडबारे फेसबुकमा फैलिएका मिथ्या सूचनाले मानिसको ज्यान लिइरहेको छ’

अमेरिकी राष्ट्रपति जो बाइडनले सामाजिक सञ्जालमा फैलिरहेको कोभिड-१९ विरुद्धको मिथ्या सूचनाले मानिसहरूको ज्यान लिइरहेको बताएका छन्। फेसबुक सहितका माध्यमहरूले खोप र महामारीका सन्दर्भमा गलत सूचना फैलाइरहेको विषयमा एक जना पत्रकारले सोधेको प्रश्नमा जवाफमा बाइडनले त्यसो भनेका हुन्। कम खोप दर भएका ठाउँमा सङ्क्रमण विस्तार भइरहँदा ह्वाइट हाउसले महामारीबारेका मिथ्या सूचना नियन्त्रण गर्न फेसबुक विफल भइरहेको टिप्पणी गरेको छ। आफ्नो प्रतिक्रियामा फेसबुकले मानिसहरूलाई कसरी खोपसम्म पहुँच प्राप्त गर्ने भन्ने जानकारी दिएर आफूले जीवन बचाइरहेको टिप्पणी गरेको छ।

अमेरिकी स्वास्थ्य अधिकारीहरूले हाल कोभिड-१९ को कारण बढिरहेको मृत्यु र सङ्क्रमण दर विशेषगरी कोरोनाभाइरसबाट सुरक्षा नअपनाएका मानिसहरूमा देखिएको उल्लेख गरेका छन्। सङ्क्रमणका घटना बढेपछि लस भेगसमा क्षेत्रीय स्वास्थ्य अधिकारीहरूले खोप लगाएका वा नलगाएका दुवै थरी मानिसहरूलाई भिडभाड हुने भवनभित्र मास्क लगाउन भनेका छन्।

फेसबुकको प्रतिक्रिया के छ?

ह्वाइट हाउसले गलत सूचना प्रवाह रोक्न सामाजिक सञ्जालहरूमाथि दबाव बढाउँदै गएको छ। शुक्रवार बाइडनले भने, “उनीहरूले मानिसका ज्यान लिइरहेका छन्। खोप नलगाएकाहरूमा मात्रै हामीकहाँ महामारीको अवस्था छ।” यसअघि ह्वाइट हाउसकी प्रवक्ता जेन सकीले फेसबुक र अन्य माध्यमहरूले खोपका बारेका मिथ्या सूचना नियन्त्रणका लागि पर्याप्त कदमहरू नचालेको बताएकी थिइन्। उनले भनिन्, “पक्कै पनि उनीहरूले केही कदम चालेका छन्। तर अझै पनि थप कार्य गर्नुपर्ने प्रस्ट छ।” फेसबुकले जनस्वास्थ्य रक्षाका लागि आफूले ‘आक्रामक कदम’ चालेको बताएको छ। फेसबुकका प्रवक्ता केभीन मकालिस्टरले कम्पनी ‘तथ्यमा आधारित नभएका आरोपहरूबाट विचलित नहुने’ बताए। एउटा विज्ञप्तिमा फेसबुकले भनेको छ, “हामीले एक करोड ८० लाखभन्दा बढी कोभिडसम्बन्धी मिथ्या सूचनाहरू हटाएका छौँ र नियमित रूपमा हाम्रा नियमहरू मिच्ने खाताहरूलाई बन्द गरिदिएका छौँ।”

यसअघि पनि फेसबुकले प्रकाशित सामग्रीहरूको नियमन लिएर आलोचना खेपेको थियो।अझै पनि महामारीसँग सम्बन्धित गलत विवरणहरू उक्त माध्यममा प्रशस्तै पाइन्छन्।

पछिल्लो विवादको कारण

यसअघि अमेरिकी सेन्टर्स फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनका निर्देशकले शुक्रवार संवाददाताहरूसँग खोप नलगाउनेहरूमा महामारी फैलिरहेको प्रस्ट सन्देश देखिएको बताएका थिए।

हालसम्म ६७.९ प्रतिशत अमेरिकी वयस्कहरूले खोपको एउटा मात्रा लगाएका छन् र ५९.२ प्रतिशतले दुवै मात्रा खोप लगाएका छन्। खोप लगाउन योग्य कैयौँ व्यक्तिहरूले आफूहरूलाई खोपमा विश्वास नभएको बताइरहेका छन्। गएको महिना एउटा प्रतिवेदनले फेसबुक, ट्विटर, यूट्युब र इन्स्टाग्राममा खोपविरोधी अभियानकर्ताहरूलाई पछ्याउनेको सङ्ख्या पाँच करोड ९० लाख नाघेको उल्लेख गरेको थियो।  त्यसपछि फेसबुक, गुगल र ट्विटरका प्रमुख कार्यकारीहरू क्रमशः  मार्क जकरबर्ग, सुन्दर पिचाइ र ज्याक डोर्सीलाई अमेरिकी संसद्‌ले सोधपुछ गरेको थियो। त्यसबेला डोर्सीले ट्विटरले सम्प्रेषित सन्देशहरूलाई निगरानी गर्ने बताएका थिए भने पिचाइले भ्रामक सामग्री हटाउन काम गरेको र खोप सम्बन्धी सूचना दिन आफ्नो माध्यमले खेलेको भूमिकाको चर्चा गरेका थिए। 

Leave a Reply

Your email address will not be published. Required fields are marked *