क्रिसमसको दिन श्रीमती अनि दुई छोरीसित समय बिताउने योजना पहिल्यै बनाइएको थियो। त्यसले काम सकेर मङ्गलवार राति मालदाबाट सिलगढ़ी फर्कने उद्देश्यले तिनी ट्रेनमा चढ़ेका थिए। तर आश्चर्यजनक रूपमा ट्रेनबाटै सिलगढ़ीको 16 नम्बर वार्डको हाकिमपाड़ा निवासी जय अधिकारी(40) बेपत्ता भएका छन्। पेशाले निजी संस्थाको कर्मचारी जय अधिकारीको घर अलिपुरद्वार हो। तर कामको कारण सिलगढ़ीमा घर भाड़ामा लिएर तिनी सपरिवार बस्दै आइरहेका थिए। जय बेपत्ता बनेपछि परिवारको तर्फबाट पानी ट्याङ्की पुलिस चौकीमा प्राथमिकी दर्ता गरिएको छ। उत्तर–पूर्व रेलवेका जनसम्पर्क अधिकारी कपिञ्जलकिशोर शर्माले भने, सिसिटिभी क्यामेराको फूटेज जाँच गरेर तिनको खोजी गरिनेछ।
जय बेपत्ता बनेपछि तिनको परिवार सदस्यहरू चिन्तामा परेका छन्। जयकी श्रीमती श्रावणी अधिकारीले भनिन्, राति लगभग 11.45 बजी ह्वाट्सएपमा मलाई सन्देश लेखेर सराईघाट एक्सप्रेसमा चढ़ेको जानकारी दिए। तर एउटा फँसादमा परेका बताएका थिए। त्यसको कारण सबै कुरा खोलेर भन्न सकेनन्। जसोतसो सन्देश लेखेका थिए। फँसादबाट बाहिरिएपछि फोन गर्ने पनि बताएका थिए। तर त्यसपछि फोन नै बन्द भयो। कतैबाट पनि तिनीबारे खबर पाउन सकिरहेका छैनौँ।
घटनापछि जयका परिवार सदस्यहरूले धेरैपल्ट तिनलाई फोनमा सम्पर्क गर्ने प्रयास गरे। नयाँ जलपाइगुढी स्टेशन, नयाँ कोचबिहार स्टेशन लगायत विभिन्न स्थानमा खोजी गर्दा पनि जयलाई फेला पार्न सकिएन। यसैबीच परिवारको तर्फबाट विभिन्न स्टेशनहरूमा फोटो राखेर सम्पर्क गरियो। त्यससितै सामाजिक सञ्जालमा जयको फोटो राखेर प्रचार गरियो। घटनाको जानकारी पाएपछि वार्ड पार्षद सुजय घटकले टेलिफोनमार्फत श्रावणीसँग कुराकानी गरे। पछि तिनले पानी ट्याङ्की पुलिस चौकीमा पनि सम्पर्क गरे। ट्रेनबाट अचानक बेपत्ता भएपछि जयका साथीहरू अचम्भित बनेका छन्। तिनका एकजना साथी सैकत देवशर्माले भने, तिनी निकै शान्त स्वभावका व्यक्ति हुन्। सधैँ काममै व्यस्त रहन्छन्। कुनै खराब सङ्गत छैन। जय कसरी हराए, बुझ्नै सकिरहेका छैनौँ।