एनएच ५५ खोल्न तीन-चार दिन लाग्ने

महानदीमा पैहो गएर बन्द भएको एनएच ५५ बिहीवार पनि सुचारु हुन सकेन । रेल ट्याकदेखि माथिल्तिर भित्ता काटेर ससाना गाड़ीहरू छिर्न सक्ने मार्ग बनाउने भनिए पनि बिहीवारसम्म एनएच ५५ खोलिएन । बिहीवार दिउँसो एनएचका चिफ इञ्जिनियर, आरओ, एसी आएर एनएच ५५ अन्तर्गत महानदीको चिउरी भीरमा गएको पैह्रोको निरीक्षण गरेका छन्।

अधिकारीहरूले निरीक्षण गरेपछि ३-४ दिनमा साना गाडीहरू छिर्न सक्ने बाटो बनाउने भएको छ। दिउँसो लगभग २.३० बजी एनएचका अधिकारीहरू आएर पैह्रोको निरीक्षण गरे। निरीक्षणपछि रेल ट्र्याकको माथिल्तिर भित्ता काटेर बाटो खोल्ने अनुमति दिइएको जानकारी प्राप्त भएको छ। बाटो खोल्न आज पैहोको माथिल्तिर फाँड़फुड़ गरेर राखिएको थियो तर काम भने आरम्भ भएको थिएन। पैह्रोको माथिल्तिर रहेको रेल ट्याकबाट साना बाइक र स्कुटीहरू बिस्तारै छिराउँदै गरिएको देखियो । रेल ट्र्याकदेखि माथिल्तिर भित्ता काटेर नालीमा ह्याण्ड पाइप लगाई फिलिङ गरेर ससाना गाड़ीहरू छिर्न सक्ने मार्ग बनाइने एनएचका ठेकेदार निलम प्रधानले जानकारी दिए। निरीक्षण गरेर अधिकारीहरूले अनुमति दिएका बताउँदै निलम प्रधानले भने, साना गाड़ीहरू छिर्न सक्ने बाटो बनाउने कार्य शुक्रवारदेखि आरम्भ गरिनेछ ।

उल्लेख्य छ, लगतार परेको पानीको कारण गत बुधवार बिहान लगभग ३ बजी महानदीको चिउरी भीरमा पैह्रो जाँदा एनएच ५५ पूर्ण रूपले बन्द भएको थियो । एनएच ५५ बन्द भएपछि बस सेवासितै रेल सेवा पनि ठप्प छ । एनएच ५५ बन्द भएपछि महानदी, तीनधारे, घैयाबारी आदि क्षेत्रका जनसाधारणहरूलाई धेरै असुविधा भइरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *