इजरायलको संसदले बुधबार इजरायलमा नयाँ राष्ट्रपतिको चयन गर्दैछ

राष्ट्रपतिको निर्वाचन इजरायली संसद नेसेटमा हुनेछ । इजरायलको संसदमा १२० जना सांसद रहेका र उनीहरुले नै राष्ट्रपतिको चयन गर्नेछन् ।
चुनावमा दुई जना प्रतिस्पर्धी  छन् । राष्ट्रपति पदमा उम्मेदवारमध्ये एक जना वरिष्ठ राजनीतिज्ञ आइज्याक हर्जोग र अर्का शिक्षाविद् मिरियम पेरेज रहनुभएको छ ।
साठी वर्षीय हर्जोग यसअघि इजरायलको लाबोर पार्टीका पूर्व प्रमुख हुनुहुन्थ्यो । साथै उहाँ संसदमा विपक्षी दलको नेता पनि रहनुभएको थियो । सन् २०१३ को संसदीय निर्वाचनमा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको विपक्षमा चुनावमा उठ्नुभएको थियो ।
उहाँ इजरायलको प्रभावशाली जियोनिस्ट परिवारका सदस्य हुनुहुन्छ । उहाँका बुबा चाइम हर्जोग पनि इजरायलको राष्ट्रपति र संयुक्त राष्ट्रसङ्घका लागि इजरायली राजदूत हुनुहुन्थ्यो । उहाँका काका अब्बा एबान पनि इजरायलको पहिलो विदेशमन्त्री रहनुभएको थियो ।
अर्की उम्मेदवार ६७ वर्षीया पेरेज बढी अनुदारवादी र राष्ट्रवादी स्वभावकी हुनुहुन्छ । उहाँ मोरक्कोबाट सानैमा इजरायल आउनुभएको थियो । उहाँले इजरायलमा शिक्षिका, शिक्षाकर्मी र यहूदी धर्मको बारेमा अध्यापकका रुपमा सेवा गर्नुभएको छ । उहाँका दुई छोराको इजरायली सैनिक सेवामै रहँदा मृत्यु भएको छ ।
सन् २०१८ मा उहाँलाई इजरायलको सर्वोच्च पदक “इजरायल प्राइज”बाट सम्मानित गरिएको थियो । उहाँ निर्वाचित भए इजरायलको पहिलो महिला राष्ट्रपति बन्नुहुनेछ ।
राष्ट्रपतिमा निर्वाचित हुन इजरायली संसद नेसेटको १२० स्थानमध्ये कम्तीमा ६१ स्थान प्राप्त गर्नुपर्दछ । कुनै उम्मेदवारले उक्त मत प्राप्त गर्न नसके दोस्रो चरणको मतदान हुनेछ । विजयी उम्मेदवारले आगामी जुलाई ९ बाट कार्यभार सम्हाल्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *