भारतीय फुटबल टिमका कप्तान सुनील क्षेत्रीले खेल रत्न अवार्ड पाउने भएका छन । उनी फुटबलबाट यो अवार्ड पाउने पहिलो खेलाडी बनेका छन ।
पछिल्लो १६ बर्षदेखि भारतीय टिमलाई सफल रुपमा अगाडी बढाइरहेका क्षेत्रीलाई मेजर ध्यान चन्द खेल रत्न अवार्डको सम्मान दिइने भएको छ ।
उनले अवार्ड पाउने भएपछि पछिल्लो १६ बर्षको यात्रा निकै कठिन रहेको र यो अवार्ड पाउनु एक सपना रहेको बताएका छन ।
सन् २००५ जुन १२ मा पाकिस्तानविरुद्ध सिनियर टिममा डेब्यु गरेका क्षेत्रीले देशका लागि धेरै योगदान गरेका छन । तर अब उनले देशको ठूलो सम्मान पाउँदा उनको उचाई झन बढेको छ । उनले यो अवार्ड पाउन करियरमा सहयोग गर्ने सबैलाई धन्यवाद दिएका छन । उनले राष्ट्रिय टिमका लागि खेल्नु आफैमा गर्वको कुरा भएको र त्यसमा पनि यो अवार्ड पाउँदा झन खुसी लागेको बताए ।
३६ बर्षे क्षेत्री भारतीय फुटबलको गोल्डेन एराको सफल खेलाडी मानिन्छन । उनले देशका लागि धेरै खेल खेलेर धेरै गोल गर्ने रेकर्डपनि राखेका छन ।
भारतका लागि एक सय २५ क्याप जितेका क्षेत्रीले ८० गोल गरेका छन । उनी राष्ट्रिय टिमका लागि धेरै गोल गर्ने खेलाडीको सूचीमा लियोनल मेस्सीसँग बराबरी गरेका छन ।
उनी पद्मरत्न र अर्जुना अवार्ड जित्ने थोरै खेलाडीमा पर्छन । साथै उनी खेल रत्न अवार्ड जित्ने पहिलो भारतीय फुटबलर बनेका छन । यो अवार्ड भारतमा खेलकुद क्षेत्रमा दिइने सबैभन्दा ठूलो अवार्ड हो ।