बन्दे भारत स्लीपर वा अमृत भारत एक्सप्रेस कम्तीमा प्रतिघण्टा 160 किलोमिटर गतिमा दौड़िन सक्छ। अत्याधुनिक प्रविधिले यी रेलहरूलाई द्रुतगामी वा सेमी हाई–स्पिड बनाएको हो। तर उत्तर बङ्गालमा रहेका हालका रेल ट्र्याकमा प्रतिघण्टा 110 देखि 130 किलोमिटरभन्दा अधिक गतिमा रेल चलाउन सम्भव छैन। त्यसैले बन्दे भारत स्लीपरजस्ता आधुनिक प्रविधिसहितका सेमी हाई–स्पिड रेल सेवा आरम्भ भए पनि यहाँको ट्र्याक नै गतिका लागि अवरोध बन्नेछ। यद्यपि अहिलेको सबैभन्दा ठूलो समस्या भनेको अत्यधिक स्टपेज हो। यस प्रकारका रेल यात्रा मार्गमा दुई–तीनभन्दा अधिक स्टपेज हुनु हुँदैन। तर कामाख्या र हाउड़ाबीच बन्दे भारत स्लीपरका 13 वटा स्टपेजहरू छन्। यसकारण धेरैले यसलाई बन्दे भारत लोकल भनेर व्यङ्ग्य गरिरहेका छन्। रेल सूत्रअनुसार 966 किलोमिटर लामो यात्रा मार्ग (कामाख्या–हाउडा) मा बन्दे भारत स्लीपरको औसत गति प्रतिघण्टा 66.62 किलोमिटर रहनेछ।
उत्तर–पूर्व भारतको सम्पर्क व्यवस्था सुधारका लागि अश्विनी वैष्णवको मन्त्रालयले एकपछि अर्को अत्याधुनिक रेल सञ्चालन गर्ने निर्णय गरेको छ। यसकारण उत्तर–पूर्व सीमान्त रेल क्षेत्रमा ट्र्याक परिवर्तनको काम भइरहेको छ। हाल यहाँ रहेका रेललाइन वा ट्र्याकमा प्रतिघण्टा 110 किलोमिटर गतिमा रेल चल्न सक्छ। स्थान विशेषमा भने गति 130 किलोमिटरसम्म हुन सक्छ। उत्तर–पूर्व सीमान्त रेल सूत्रअनुसार अलिपुरद्वार डिभिजनमा मोठ सात सय किलोमिटर रेललाइनमा प्रतिघण्टा 110 किलोमिटर गतिमा रेल चलाउन सकिन्छ। तर जङ्गल मार्गमा वन्यजन्तुको सुरक्षाका लागि गति सीमित गरिएको छ।
बन्दे भारत स्लीपर, अमृत भारत एक्सप्रेस लगायत भविष्यका योजनालाई ध्यानमा राख्दै रेलले ट्र्याक परिवर्तनको काम आरम्भ गरिसकेको छ। कम्तीमा प्रतिघण्टा 130 किलोमिटर गतिमा रेल चलाउन सकिने गरी काम अगाड़ि बढ़ाइएको छ। द्रुत गतिको रेल सञ्चालनमा ट्र्याकको सुरक्षा अत्यन्त महत्त्वपूर्ण हुन्छ। विशेष गरी एउटै ट्र्याकमा एकभन्दा अधिक रेल नचलाउने, सर्वसाधारणको रेललाइन भएर हिँड़डुल वा पार गर्ने कार्य बन्द गर्ने, गाईवस्तु वा सवारीसाधनको आवागमन निषेध गर्ने जस्ता विषय अत्यन्त जरुरी छन्। नत्र दुर्घटनाको आशङ्का रहन्छ। यद्यपि हाल निर्माण भइरहेका रेलहरूमा कवच प्रणाली जड़ान गरिएको छ। यही प्रविधिको प्रयोगका कारण बन्दे भारत स्लीपरको अधिकतम गति क्षमता प्रतिघण्टा 180 किलोमिटर रहेको छ। उत्तर–पूर्व सीमान्त रेलको अलीपुरद्वार डिभिजनका सिनियर डीसीएम आशिफ अलीले भने, अबदेखि यात्रुहरूले अत्याधुनिक द्रुत गतिको एकभन्दा बढ़ी रेल सेवा पाउनेछन्। अहिले आवश्यकताअनुसार रेलहरू प्रतिघण्टा 110 देखि 130 किलोमिटर गतिमा चल्न सक्नेछन्।
ट्र्याकको जटिलतामा बन्दे भारत स्लीपर
