गत अप्रेल र मई महिनामा दोस्रो लहरको संक्रमण हुँदा देशका अधिकांश अस्पतालहरुमा अक्सिजनको चरम अभावले भयावह स्थिति सिर्जना भएको थियो । अहिले तिनै अस्पतालहरुमा कोभिडका बिरामीको सङ्ख्या उल्लेखनीय रुपमा घटेको छ तर पनि स्वास्थ्यविद्हरु ढुक्क हुने अवस्थामा नरहेको बताउँछन् । केही महिना अगाडि गंगा नदीमा कोभिडले मृत्यु भएकाको शव हप्तौँ निरन्तर जलिरहँदाको पीडादायक अनुभव उनीहरुले भुलेका छैनन् । विशेषगरी अस्पतालहरुले दोस्रो लहरबाट ठूलो पाठ सिकेका छन्। यस्तोमा सेप्टेम्बरदेखि नोभेम्बरका बीच पर्ने विभिन्न ठूला पर्वले तेस्रो लहर फैलाउने सम्भावना अधिक रहेको विज्ञहरुको भनाइ छ । त्यसैले तयारी स्वरुप देशभरिको अस्पतालहरुले विभिन्न सेवा सुविधा बढाइरहेका छन् भने अक्सिजनको आपूर्ति पर्याप्त रहेको पनि सुनिश्चित गर्न थालिएको छ ।
नयाँ दिल्लीको गंगाराम अस्पतालले मात्र अक्सिजन स्टोरेजको क्षमता ५० प्रतिशतले वृद्धि गराएको छ भने कोभिडको आईसीयूका लागि भनेर ग्यास लैजान एक किलोमिटर लामो सिधा पाइप पनि स्थापित गराएको छ । यसले अक्सिजनको बहाव उच्च राख्ने अपेक्षा छ । यति मात्र नभएर साइटमै अक्सिजन उत्पादन गराउने प्लान्टसमेत मगाइएको छ । युरोपमा निर्मित त्यस प्लान्ट आइपुग्न केही महिना लाग्न सक्छ जसको माग पछिल्लो समय विश्वभरि बढेको छ । अस्पतालका मेडिकल डिरेक्टर सतेन्द्र कतोज भन्छन्, कोरोना भाइरसका अझ अधिक संक्रमक र हाम्रो शरीरको प्रतिरोधात्मक क्षमताबाट उम्किन सक्ने स्वरुप उत्पन्न हुन सक्छन् । त्यसैले पनि हामीले त्यस किसिमको संकटका लागि तयारी गरिरहनु परेको छ।
राष्ट्रिय स्तरमै देशले गत केही महिनामा अत्याधिक धेरै मात्रामा हस्पिटल बेड र अक्सिजन निर्यात गराएको छ । विभिन्न ठूला कम्पनीहरुले देशको अक्सिजन उत्पादनमा दैनिक १५ हजार टनसम्मले वृद्धि ल्याइरहेका छन् । दोस्रो लहरको समयमा अक्सिजनको उत्पादन, निर्माण संरचना र वितरणमा धेरै समस्या देखा परेको थियो । त्यसैगरी लगभग सबै प्रदेशहरुले बालबालिकाका लागि विशेष पेडिआट्रिक वार्ड पनि तयार पारिसकेका छन् । भ्याक्सिन नलगाएको हुनाले भाइरसको नयाँ स्वरुप प्रति बालबालिकाहरु अधिक संवेदनशील हुने खतरा रहेको विज्ञहरुले चेताउनी दिइरहेका छन् । त्यस्तै मध्य प्रदेशसहित विभिन्न क्षेत्रमा कोभिडका एन्टिभाइरल औषधि जस्तै रेम्डेसिभिर स्टक गरिराख्ने काम पनि भइरहेको छ ।
केन्द्र सरकारको सर्वेक्षणले चाहिँ दुई तिहाइ जनतामा प्राकृतिक संक्रमणमार्फत कोभिडसँग लड्ने एन्टिबडिज भएको र बाँकी ५७ प्रतिशत वयश्कहरुले कम्तीमा एउटा डोज भ्याक्सिन लगाएको हुँदा संक्रमण फेरि फैलिएमा अवस्था दोस्रो लहरभन्दा कम भयानक हुने देखाएको छ। पब्लिक हेल्थ फाउण्डेशन अफ इण्डियाका निर्देशक, के. श्रीनाथ रेड्डी भन्छन्, अहिले संक्रमित हुन सक्ने जोखिममा एकदम कम मानिस छन् किनभने धेरै मानिसहरु वा त संक्रमित भइसकेका छन् वा भ्याक्सिन लगाइसकेका छन् । त्यसैले भाइरस पुनः फैलिएमा यसको असर सामान्य मात्र पर्न सक्छ र घरमै बसेर पनि ठिक हुन सकिनेछ । केरेलामा अहिले नै संक्रमितहरुको सङ्ख्या बढिरहेको अवस्था छ तर प्रायःले भ्याक्सिनको कम्तीमा एउटा डोज लगाइसकेको हुँदा यसले पुयाइरहेको क्षति न्यून रहेको छ।