विश्वकप क्रिकेटमा पाकिस्तानमाथि अस्ट्रेलियाको शानदार जित

आइसिसी महिला एकदिवसीय विश्वकपअन्तर्गत आज सम्पन्न खेलमा अस्ट्रेलिया विजयी भएको छ । लगातार दोस्रो जित निकाल्ने क्रममा अस्ट्रेलियाले पाकिस्तामाथि ७ विकेटको जित हात पारेको हो । १९१ रनको लक्ष्य उसले ३४.४ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्‍याे ।  

उसका लागि एलिस हेलीले सर्वाधिक ७२ रनको योगदान दिइन् । ७९ बलको सामना गरेकी उनले ७ चौका प्रहार गरिन् । कप्तान मेग लेनिङ्गले ३५ र राचेल हाइनेसले ३४ रन जोड्दा अविजित रहेका एलिस पेरीले २६ तथा बेथ मोनीले २३ रन बनाए । पाकिस्तानका लागि ओमाइमा सोहेलले २ तथा नशरा सन्धुले १ विकेट हात पारे । यसअघि न्यूजिल्यान्डको माउन्ड माउंगानुइस्थित बे ओभलमा टस हारेर ब्याटिङको निम्तो पाएको पाकिस्तानले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै १९० रन बनाएको थियो । 

पाकिस्तानका लागि कप्तान बिस्माह मारुफले अविजित ७८ रनको योगदान दिइन् । १२२ बलको सामना गरेकी उनले ८ चौका प्रहार गरिन् । आलिया रियाजले १०९ बलमा ४ चौकासहित ५३ रन जोड्दा फातिमा सानाले १४ र ओमाइमा सोहेलले १२ रन बनाए ।

अस्ट्रेलियाका लागि एलना किंगले २ तथा मेगन स्कट, एलिस पेरी, अमान्डा वेलिंग्टन र  निकोला केरीले १/१ विकेट हात पारे । यो जितसँगै अस्ट्रेलियाले २ खेलमा ४ अंक जेड्दा दुवै खेल गुमाएको पाकिस्तान अंकविहीन छ । 

अस्ट्रेलियाले पहिलो खेलमा इंग्ल्यान्डलाई १२ रनले पराजित गर्दा पाकिस्तानले भारतसँग १०७ रनको हार बेहोरेको थियो ।  

Leave a Reply

Your email address will not be published. Required fields are marked *