सिलगढीमा कोरोनाका डेल्टा र युके स्ट्रेनले ७ संक्रमित

सिलगढ़ीमा कोरोना भाइरसको डेल्टा भेरियण्ट अनि युके स्ट्रेनको पत्तो लागेको छ। कोरोना भाइरसको डेल्टा भेरियण्ट र युके स्ट्रेनले सातजना संक्रमित रहेको पुष्टि भएको छ । यी दुवै भेरियण्टबाट द्रुत गतिमा कोरोनाको भाइरस फैलिन्छ । केही दिनअघि हिमाली राज्य सिक्किमका ९७ जना कोरोनाको डेल्टा भेरियण्टले संक्रमित भएको पुष्टि भएको थियो । त्यसपछि नै दार्जीलिङ जिल्ला प्रशासनले सिक्किमबाट बंगाल भित्रिने वाहनका चालक, सहचालक र यात्रीहरूको निम्ति आरटीपीआर नेगेटिभ रिपोर्ट अथवा भ्याक्सिनको दुवै डोज़ लगाएको प्रमाणपत्र हुनु अनिवार्य गरेको थियो|

उत्तर बंगाल मेडिकल कलेज तथा अस्पताल सूत्रबाट प्राप्त जानकारीअनुसार सिलगढ़ीमा जुन पाँच व्यक्तिको शरीरमा कोरोनाको डेल्टा भेरियण्टको पुष्टि भयो तिनीहरू सूर्यसेन कलोनी, नौकाघाट, चम्पासरी, उत्तर बंगाल मेडिकल कलेज परिसर अनि मङ्पूको रेशेपका बासिन्दा हुन् । दुइ अन्य, जसको शरीरमा कोरोनाक युके स्ट्रेनको पुष्टि भएको छ, तिनीहरू सिलगढ़ीको महामाया कलोनी र मतिगढ़ाको तुम्बाजोतका बासिन्दा हुन्। मंगलवार उत्तर बंगाल मेडिकल कलेज तथा अस्पतालमा कोरोना संक्रमित एकजना रोगीको मृत्यु भयो । मृतकको नाउँ सरबाला सिंह हो र तिनी सालुगढ़ाको विकासनगरका बासिन्दा थिइन् । मंगलवार दार्जीलिङ जिल्लामा अझ ३९ जना कोरोना भाइरसले संक्रमित भए ।

दार्जीलिङ र जलपाइगढ़ी जिल्लाअन्तर्गत सिलगढ़ी नगरनिगम क्षेत्रमा १७ जना भाइरसले संक्रमित भएको स्वास्थ्य विभागले जनाएको छ । यसै अवधि ५२ जना कोरोना रोगी संक्रमणबाट मुक्त भए मंगलवार उत्तर बंगाल मेडिकल कलेज तथा अस्पतालको कोभिड वार्डमा मोठ २४ जना रोगी उपचाराधीन थिए । यसमध्ये कोभिड ब्लक वनमा ८ जना, टु मा ५ जना, कोभिड ब्लक थ्री मा ४ जना, रिकु वार्डमा ३ जना, महिला आइसोलेशनमा ३ जना अनि सर्जिकलमा एकजना रोगी भर्ना थिए ।

By Editor

Leave a Reply

Your email address will not be published. Required fields are marked *