पन्जाबमा जनतालाई सोधेर आम आदमी पार्टीले छान्यो मुख्यमन्त्रीका उम्मेदवार

भारतीय प्रान्तमा पन्जाबमा आम आदमी पार्टी (आप) ले नयाँ तरिका अपनाउँदै मुख्यमन्त्रीका उम्मेदवार छानेको छ। भारतीय सञ्चारमाध्यमहरूका अनुसार मंगलबार चन्डिगढमा आपका प्रमुख एवं दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवालले पन्जाबमा आपले बहुमत ल्याए भागवान्त मन मुख्यमन्त्री हुने घोषणा गरे।

भागवान्तलाई मुख्यमन्त्रीका उम्मेदवार घोषणा गर्न आपले नयाँ तरिका अपनाएको छ। पन्जाबमा आउने फेब्रुअरीमा विधान सभा चुनाव हुँदैछ। आपले नयाँ मुख्यमन्त्री कसलाई बनाउने भनेर जनताबाट राय मागेको थियो। ‘जनता चुन्नेछन् आफ्ना मुख्यमन्त्री’ अभियानअन्तर्गत आपले फोन र सामाजिक सन्जालमार्फत् जनताको अभिमत मागेको थियो।

केजरीवालले झन्डै २२ लाख मानिसहरूले यो अभियानमा आफ्नो राय व्यक्त गरेको जानकारी दिए। तीमध्ये ९३ प्रतिशत मत भागवान्तको पक्षमा आएकाले उनलाई मुख्यमन्त्रीको उम्मेदवार बनाइएको उनको भनाइ छ। भागवान्त सन् २०१४ देखि लोकसभा सदस्य छन्। सन् २०१९ को चुनाव पन्जाबबाट लोकसभा चुनाव जित्ने उनी एकमात्र आप उम्मेदवार हुन्। आपले सन् २०१७ को विधान सभा चुनावमा पनि पन्जाबमा लडेको थियो। त्यतिबेला पहिला नै मुख्यमन्त्रीका उम्मेदवार घोषणा गरिएको थिएन। आपतले पाँच वर्षअघिको चुनावमा विधान सभाका २० सिट जितेको थियो। यसपालि पहिला नै मुख्यमन्त्रीका उम्मेदवार घोषणा गरिएकाले विधान सभा चुनाव आपले जित्ने केजरीवालले विश्वास व्यक्त गरेका छन्  

Leave a Reply

Your email address will not be published. Required fields are marked *