एकजना सांसदलाई बलात्कारको आरोप लगाएको कारण प्रहरी र न्यायपालिकाले हैरान बनाएको बताउँदै गत साता आफ्नो शरीरमा आगो लगाएकी एक २४ वर्षे महिलाको मृत्युले भारतमा महिलालाई हुने अपमानजनक व्यवहारलाई फेरि एक पटक चर्चामा ल्याएको छ।
अगस्ट १६ मा सामाजिक सञ्जाल फेसबुकमा प्रत्यक्ष प्रसारण गर्दै ती महिला र उनका एक पुरुष साथीले आफैँलाई आगो लगाएका थिए। गम्भीर घाउका साथ अस्पताल पुर्याइएकोमा पुरुषको शनिवार र महिलाको मङ्गलवार साँझ मृत्यु भएको थियो।
उत्तर प्रदेशबाट राजधानी दिल्ली आएको जोडीले सर्वोच्च अदालतबाहिर आफ्नो दुःखप्रति ध्यानाकृष्ट गर्न खोजेको कार्यले भारतलाई स्तब्ध तुल्याएको छ।
ती महिलाले बहुजन समाज दलका लोकसभा सांसद अतुल राईले वाराणसीस्थित निवासमा बलात्कार गरेको आरोप लगाउँदै सन् २०१९ को मेमा प्रहरीमा जाहेरी दिएकी थिइन्।
गत वर्ष एक १९ वर्षे किशोरीको सामूहिक बलात्कार र हत्याको घटनामा अधिकारीहरूको आलोचना भएको थियो
राज्यका अधिकारीहरूले दुई प्रहरी अधिकृतलाई निलम्बन गरेर अनुसन्धान सुरु गरेको बताएका छन्।
उनीहरूको भिडिओ हेर्नु सहज छैन र समयसमयमा उनीहरू बोल्न नसक्ने हुन्छन्। उनीहरूको अवस्था हृदयविदारक देखिन्छ।
सन् २०१२ को डिसेम्बरमा एउटा बसमा छ जनाले एक २३ वर्षीया महिलालाई निर्ममतापूर्वक बलात्कार गरेको घटनापछि भारतमा यौन अपराध चर्चामा आएको छ।
ती महिलाको बलात्कारको छ दिनपछि निधन भएको थियो तर त्यो घटनाले विश्वभरि विरोध भएको थियो। त्यसपछि भारतले यौन अपराधविरुद्ध कडा कानुन निर्माण गरेको थियो र सो घटनामा संलग्न पाँच जनालाई मृत्युदण्ड सजाय सुनाएको थियो।
तीमध्ये चार जनालाई गत वर्ष मृत्युदण्ड दिइयो।
तर भारतमा महिलाविरुद्धको यौन अपराध बढिरहेको छ। सन् २०१८ मा प्रहरीले बलात्कारका ३३,९७७ जाहेरी दर्ता गरेको थियो। भारतमा प्रत्येक १५ मिनेटमा एउटा बलात्कारको घटना हुने गरेको छ। कतिपय घटनाहरू भने प्रहरीसम्म नआउने भएकाले यो सङ्ख्या अझ ठूलो भएको अभियानकर्मी बताउँछन्।
अधिकारकर्मीहरूले विशेषगरी पैसा र शक्ति भएका प्रभावशाली पुरुषहरू संलग्न घटनाहरूमा पीडितले न्याय पाउन गाह्रो हुने बताउँछन्।
यस्तो सबैभन्दा बढी भारतको सबैभन्दा अविकसित र ब्रजिलभन्दा धेरै जनसङ्ख्या रहेको उत्तर प्रदेशमा हुने बताइन्छ।
ती २४ वर्षे महिलाको आत्मदाह उत्तर प्रदेशमा न्यायप्राप्तिका लागि पीडित महिलाले अधिकारीहरूको ध्यानाकृष्ट गर्न चालेको पहिलो दुःखद कदम भने हैन।
सन् २०१८ मा भारतीय जनता दलका सांसद कुलदीप सेङ्गरविरुद्धको बलात्कार आरोपमा प्रहरीले कारबाही नगरेको भन्दै एक महिलाले आफूलाई जलाउने प्रयास गरेको थिइन्।
उनले जाहेरी दिएको महिनौँसम्म सेङ्गर दलमै बसेर आफ्नो क्षेत्रमा प्रभाव कायम गरिरहेका थिए।
उनले प्रहरीले सांसदसँग मिलेर आफ्नो पितालाई गिरफ्तार गरेको आरोप लगाएकी थिइन्। उनको पिताको प्रहरी हिरासतमै मृत्यु भएको थियो।
उनले आफूलाई जलाउने प्रयास गरेपछि सो मुद्दा प्रदेशबाहिर सारिएको थियो र सन् २०१९ मा दिल्लीको एक अदालतले सेङ्गरलाई दोषी बताउँदै जन्मकैदको सजाय सुनाएको थियो।
अर्को एउटा घटनामा आफ्नो बलात्कारको घटनामा अदालतमा बयान दिन जाँदै गर्दा एक महिलालाई आगो लगाइएको थियो। उनको तीन दिनपछि अस्पतालमा मृत्यु भयो।
गत वर्ष पनि प्रदेश अधिकारीहरूले १९ वर्षीया एक दलित युवतीको बलात्कार र हत्याको घटनामा सही कदम नचालेको भन्दै विरोध भएको थियो। ती मृतक युवतीको परिवारले आफ्नो अनुमतिबिना शव जलाइएको दाबी गरेको थियो।
अभियानकर्मीले भारत यौन अपराधको विषयमा गम्भीर भएको हो भने जतिसुकै शक्तिशाली भए पनि अपराधीले सजाय पाउने वातावरण हुनुपर्ने बताउँदै आएका छन्।