50 ब्याङ्क एकाउण्टबाट 330 करोड़को अवैध कारोवार

भारत–बङ्गलादेश सीमासित जोड़िएको चटहाट गाउँमा जामतारा शैलीको अनलाइन जालसाजीको मुख्य आरोपी मोहम्मद सइदुलले भाड़ामा लिएका 50 वटा ब्याङ्क खातामार्फत 330 करोड़ रुपियाँको कारोबार गरेको घटना प्रकाशमा आएको छ। सिलगढ़ी महकुमा न्यायालयले तिनका सम्पत्ति अट्याच गर्न पुलिसलाई निर्देशन दिएको छ। सीमावर्ती फाँसीदेवा ब्लकअन्तर्गत पर्ने चटहाटबाटै अनलाइन जुवाको पैसा विदेश पठाउने ठूलो गिरोह सइदुलले सञ्चालन गर्दै आइरहेका थिए। हालै न्यायालयका न्यायाधीशले सइदुलको नाममा रहेको लगभग 1 करोड़ रुपियाँ मूल्यको सम्पत्ति अट्याच गर्न आदेश दिएका छन्। यसै महीनाको 22 तारिख कलकत्ता उच्च न्यायालयको जलपाइगढ़ी सर्किट बेञ्चमा दर्ता गरिएको सइदुलको जमानत निवेदन पनि रद्द गरेको छ। पुलिस सूत्रअनुसार, चटहाट बजारमा 12 डेसिमल जमीनमा सइदुलको एउटा घर छ। साथै स्थानीय कुचिया मोड़ क्षेत्रमा तिनको नाममा 9 डेसिमल जमीन रहेको छ। यी दुवै सम्पत्तिमा फाँसीदेवा थानाले अट्याचमेण्ट प्रक्रिया आरम्भ गरिसकेको छ। यस घटनामा तापन गोप, मोहम्मद रेजाबुलसहित सइदुल र तिनका दाइ मोहम्मद फैजल पक्राउ परेका छन्। हाल सबै आरोपी जेलमा छन्।
महकुमा न्यायालयले सम्पत्ति अट्याच गर्ने आदेश दिएपछि अनलाइन जुवाको पैसा विदेश पठाउने घटनामा मुख्य आरोपी सइदुलमाथि दबाउ थपिएको छ। यसअघि पनि तिनका जमानत निवेदन पटक–पटक रद्द भइसकेका छन्। पुलिसअनुसार सइदुलले 466 वटा ब्याङ्क खाता भाड़ामा लिएर ती खातामार्फत अनलाइन जुवाको पैसा विदेश पठाएका थिए। तीमध्ये केवल 50 वटा खाताबाट 330 करोड़ रुपियाँको कारोबार भएको छ। जाँचको क्रममा सइदुलकै निजी खातामार्फत 5 करोड़ रुपियाँको लेनदेन भएको पनि पत्तो लागेको छ। सइदुलसित सम्बन्धित 232 वटा ब्याङ्क खाता हालसम्म फ्रिज गरिएको छ जसमा 79 लाख रुपियाँ जम्मा रहेको छ। सइदुल समूहले अरूको ब्याङ्क खाता भाड़ामा लिएर मुख्यतः दुबई, अष्ट्रेलिया, जर्मनी, अबु धाबी र श्रीलङ्कामा पैसा पठाउने गरेको पुलिसले जनाएको छ।
सन् 2024 को मई महीनातिर फाँसीदेवा थानाले अनलाइन जालसाजीको पैसा विदेश पठाउने गिरोहको पत्तो पाएको थियो। पुलिस कारवाहीको पहिलो चरणमै तापन गोप पक्राउ परेका थिए। 9 महीना भागेपछि यो वर्ष 4 मार्चमा मुख्य आरोपी सइदुल पक्राउ परे। तिनका सेकेण्ड इन कमाण्ड रेजाबुललाई 14 मार्चमा पुलिसले पक्राउ गरेको थियो। लगभग डेढ़ वर्ष भागेपछि सइदुलको गतिविधिमा सहयोग गर्ने तिनका दाइ फैजल पनि पक्राउ परे। यो वर्ष 16 अप्रिलमा पुलिसले सइदुलविरुद्ध चार्जशीट दर्ता गरेको छ। नक्सलबारीका एसडीपीओ सौम्यजित रायले भने, दार्जीलिङका पुलिस सुपरिण्टेण्डेण्टको निर्देशनमै सम्पूर्ण विषयको निगरानी भइरहेको छ। सयौँ करोड़ रुपियाँको जालसाजीसित सम्बन्धित यस घटनामा दोषीहरू अवश्य सजाय पाउनेछन्। यसबाट यस्ता अपराधमा संलग्न हुन अपराधीहरूले फेरि हिम्मत गर्ने छैनन्।

By Piyali Poddar