कुनैबेला म बस्ने घर जत्रो अहिले मेरो बाथरुम छ : नवाजुद्दीन सिद्दिकी

बलिउड अभिनेता नवाजुद्दीन सिद्दिकीले केही समयअघि मुम्बईमा आलिशान घर बनाए । उनले यो घरलाई आफ्नो सपनाको घर भनेका छन् । उनी अहिले आफ्नो सपनाको घरमा बसोबास गर्न थालेका छन् ।

हालै मात्र भारतीय सञ्चारमाध्यमसँगको कुराकानीमा नवाजुद्दीनले आफ्नो नयाँ घर र सपनाको विषयमा कुरा गरेका छन् । ‘नवाब’ नाम राखिएको नवाजुद्दिनको यो घर तयार हुन तीन वर्ष लागेको थियो ।

नवाजुद्दीनले भने, ‘मेरो यस्तो कुनै रुचि थिएन । यो सबै सुख सुविधा मेरो कडा मिहिनेतको नतिजा हो । मैले कहिले पनि बंगलामा रहने सपना देखेको थिइनँ । मेरो भाइले भनेपछि मलाई बंगलामा मन बसेको हो । आज जति ठूलो मेरो बाथरुम छ, त्यत्रो घरमा कुनै समय म बस्थें ।’

नवाजुद्दीनले आफू मुम्बईमा सुरुवाती दिनमा बस्दा उक्त घर निकै सानो भएको बताए । ‘हामी उक्त घरमा चार जना बस्थ्यौं । उक्त कोठा यति सानो थियो कि कसैले ढोका खोल्यो भने कुनै एक जनाको खुट्टामा लाग्थ्यो । यसपछि मैले आफ्नो कोठा तीन जना साथीसँग सेयर गर्न थाले । सन् २००५ बाट मात्र म एक्लै बस्न थालेको हुँ ।’

नवाजुद्दीनले आफ्नो पितालाई नयाँ घर देखाउन नपाएकोमा दुःख व्यक्त गरेका छन् । उनले भने, ‘मलाई याद छ कि मेरा पिता मलाई भेट्न मुम्बई आउँदा दिक्दार हुनुभएको थियो । उक्त समयमा म ३ बीएचके अपार्टमेन्टमा बस्थें, जुन मेरो घर भन्दा सानो थियो । उहाँलाई मुम्बईको घरमा कहिले पनि मन बनेन । सो समयदेखि नै मैले एउटा ठूलो स्थानमा पितालाई राख्ने सपना देखेको थिएँ । तर अहिले घर तयार हुँदा उहाँले देख्न पाउनुभएन ।’

By Editor

Leave a Reply

Your email address will not be published. Required fields are marked *