दार्जीलिङका सांसद राजु विष्टको पहलमा पूर्वाधार विकासमा नयाँ नयाँ उपलब्धिहरू प्राप्त हुँदैछ। तिनले पर्यटन र पहाड़ी जिल्लाहरूको पूर्वाधार सुधारका लागि नवीन प्रयास अघि बढ़ाइरहेका छन्। तिनले बाघडुग्रादेखि दार्जीलिङ, मिरिक र कालेबुङका लागि हेलिकप्टर परिसेवा आरम्भ गर्ने आफ्नो सपनालाई साकार पार्न पहल गरिरहेका छन्। यसै सन्दर्भमा तिनी केन्द्रीय नागरिक उड्डयन मन्त्री राम मोहन नायडूसित भेट गरिसकेका छन् साथै केन्द्र सरकारको क्षेत्रीय कनेक्टिभिटी योजना तथा पहाड़ी क्षेत्रमा पर्यटन प्रबर्द्धन गर्ने वाचालाई अघि सारेका छन्।
हालैको केन्द्रीय बजटमा अर्थमन्त्रीले सरकारद्वारा उड़ान क्षेत्रीय कनेक्टिभिटी योजना लागू गरिने घोषणा गरेकी थिइन्। यस योजनाअन्तर्गत साना विमानस्थल र हेलिप्याडको विकास, उत्तरपूर्वी क्षेत्रको पर्यटन प्रबर्द्धन, होमस्टे तथा पहाड़ी जिल्लाको पूर्वाधार सुधार जस्ता विषयमाथि कार्य गरिनेछ। दार्जीलिङ र सिक्किम जस्ता स्थानहरूमा पर्यटन विस्तारको अपार सम्भावना छ। यदि बाघडुग्रादेखि यी क्षेत्रमा हेलिकप्टर परिसेवा आरम्भ गरिए पर्यटन मात्र होइन दार्जीलिङ, कालेबुङ, मिरिक र सिक्किमका विभिन्न जिल्लाहरूको पूर्वाधार सुधारमा समेत ठूलो परिवर्तन आउनेछ।
बाघडुग्रा विमानस्थल विस्तारको कार्य अघि बढ़िरहेको छ। सिक्किम र दार्जीलिङका पहाड़ी संरचनाका कारण नियमित रूपमा ठूला विमान सञ्चालन गर्न सम्भव छैन। तर हेलिकप्टर परिसेवा भने सञ्चालन गर्न सकिन्छ। यदि यी पहाड़ी क्षेत्रहरूमा हेलिप्याडहरू निर्माण गरिए न केवल पूर्वाधारमा सुधार हुनेछ तर पर्यटकहरूले नयाँ अनुभव पनि प्राप्त गर्नेछन्। दार्जीलिङ मात्र नभई मिरिक र कालेबुङमा पनि हेलिप्याड निर्माण गरी बाघडुग्रासित सिधै जोड्ने माग धेरै समयदेखि उठ्दै आइरहेको छ। साथै सिक्किमको विमानस्थलबाट नियमित उड़ान सेवा सञ्चालन नभएमा विकल्पका रूपमा हेलिकप्टर परिसेवा आरम्भ गरी बाघडुग्रासित जोड्न आवश्यक देखिन्छ।
सांसद राजु विष्टले केन्द्रीय मन्त्रीसमक्ष आफ्नो प्रस्ताव राखिसकेका छन्। केन्द्रीय मन्त्रीले पनि यस विषयमा चाँड़ै विचार गरिने आश्वासन दिएका छन् अनि आवश्यक कदम चालिने बताएका छन्। यस अर्थमा यो केवल कल्पना मात्र रहने छैन बरु निकट भविष्यमै बाघडुग्रादेखि दार्जीलिङ, मिरिक र कालेबुङका लागि हेलिकप्टर परिसेवा आरम्भ हुन सक्ने सम्भावना छ। यदि यो योजना कार्यान्वयन गरिए दार्जीलिङ, कालेबुङ र मिरिकमा व्यापारिक, आर्थिक तथा पर्यटन क्षेत्रमा नयाँ युगको आरम्भ हुनेछ।
दार्जीलिङ, मिरिक अनि कालेबुङलाई हेलिकप्टर परिसेवा
