पहाड़का वासिन्दालाई मौरी पालनतर्फ प्रोत्साहित गर्दै गोर्खाल्याण्ड टेरिटोरियल एडमिनिष्ट्रेशन (जीटीए) ले जैविक मह उत्पादनमा विशेष ध्यान दिइरहेको छ। पहाड़मा केही किसानहरूले मौरी पाल्ने गरेका छन् तर यसको मुख्य उद्देश्य भनेको जमीनमा फल्ने बालीलाई बाँदर, हात्ती लगायतका वन्यजन्तुबाट जोगाउनु हो। धेरै किसानले उत्पादन गरेको मह बोतलमा हालेर स्थानीय बजारमा बिक्री गर्छन्। तर उत्पाद यति थोरै हुन्छ कि निर्यात गर्न सकिँदैन। जबकि जैविक महको बजार मूल्य निकै राम्रो छ। यसतर्फ ध्यान दिँदै जीटीएले मौरी पालनमा थप प्रोत्साहन दिइरहेको छ। किसानहरूलाई प्रशिक्षणसितै मौरी राख्न ‘बी बक्स’ पनि उपलब्ध गराइँदैछ।
जीटीएका मुख्य जनसम्पर्क अधिकारी शक्तिप्रसाद शर्माले भने, जैविक महको राम्रो माग छ। शरीर स्वस्थ राख्न देश–विदेशका पर्यटकहरूले चियामा मह मिसाएर सेवन गर्छन्। पहाड़मा धेरै उन्नत स्तरका होटलहरू बनेका छन् जहाँ विश्वका विभिन्न देशका पर्यटकहरू आउँछन्। हामी महलाई पाउच प्याकमा राखेर ती होटलहरूमा बिक्री गर्न सक्छौँ। साथै उत्पादन धेरै भए पहाड़को महलाई ब्राण्ड बनाएर बाहिर निर्यात गर्ने सम्भावना पनि छ। जीटीएअन्तर्गत मिरिक, सौरिनी, खरसाङ, रोहिणीको केही भाग, 10 माइल, कालेबुङ, गोरुबथान अनि लाभाको भित्री क्षेत्रमा केही केही मौरी पालन हुँदै आएको छ। ती क्षेत्रमा वर्षभरि खेतीयोग्य जमीनमा बी बक्स राखिन्छ। निश्चित समयको अन्तरालमा किसानहरूले ती बक्सबाट मह सङ्कलन गर्छन् र बोतलमा भरेर स्थानीय बजारमा बेच्छन्।
तर पहाड़को खेतीयोग्य क्षेत्रमा हात्ती, बाँदर, बँदेलजस्ता वन्यजन्तुको उपद्रव बढ़िरहेको छ।
यी जनावरले दिन-रात खेतमा पसेर बाली नष्ट गर्छन्। यिनीहरूबाट बाली जोगाउन किसानहरूले बारको विकल्प स्वरूप मौरी पाल्ने गरेका छन्। जीटीए अधिकारीहरूअनुसार अहिले बजारमा धेरै प्रकारका मह पाइन्छन्। धेरै कम्पनीहरूले आफ्नो ब्राण्ड लगाएर मह बिक्री गरिरहेका छन् तर शुद्ध मह भने दुर्लभ छ। जैविक मह शरीरका लागि अत्यन्त लाभदायक हुन्छ। पहाड़मा उत्पादन हुने मह शतप्रतिशत शुद्ध हुन्छ। यदि यसको उत्पादन बढ़ाइए यस क्षेत्रको अर्थतन्त्र समेत बलियो बन्न सक्छ। यसै लक्ष्यसहित खरसाङ, कालेबुङ अनि दार्जीलिङमा किसानहरूलाई मौरी पालनमा प्रोत्साहन दिइँदैछ। इच्छुक किसानहरूलाई तीनदेखि चार दिनको आवासीय शिविरमा प्रशिक्षण दिइन्छ अनि प्रत्येकलाई मौरी राख्ने बी बक्स दिइन्छ।
