जर्मनीले कोभिड १९ बिरुद्धको खोपको दुई डोज छुट्टाछुट्टै कम्पनीको लिन पाउने निर्णय गरेको छ । जर्मनीले पहिलो डोज आष्ट्राजेनेकाको खोप लिएकाहरुले दोस्रो डोजमा फाइजर वा मोर्डनाको खोप लिन पाउने निर्णय शुक्रबार गरेको हो ।
एनएचके वल्र्डका अनुसार जर्मनीले आफ्ना नागरिकलाई दोस्रो डोजका लागि मोर्डना वा फाइजरमध्ये रोज्न सुझाएको हो । जर्मनीको खोप अभियान सञ्चालन गर्ने उच्च स्तरीय निकायले एक दिन अघि उक्त निर्णय गरेको थियो । उक्त निकायले दोस्रो डोज चार साता वा त्यसपछि लिन सक्ने जनाएको छ । त्यसअघि खोप सञ्चालन गर्ने निकायले दुई डोजबीचको समय दूरी नौ साता निर्धारण गरेको थियो ।
जर्मनीका स्वास्थ्य मन्त्री जेन्स स्पानले जर्मनीले जुलाई अन्त्यसम्म उच्च दरमा डेल्टा स्वरुपको सङ्क्रमण फैल्ने अनुमान गरेको बताउनुभयो । गत् सोमबार प्रकाशित एक शोध अनुसार आष्ट्राजेनेका र फाइजरको दुई अलग अलग डोज लिएकामा प्रतिरोधी क्षमता उस्तै खोप लिएकोभन्दा बढी पाइएको प्रकाशन भएको थियो ।
विश्व स्वास्थ्य संगठनका विज्ञ समूहका प्रमुख जोकिम होमब्याकले समेत उक्त शोधको निचोडको स्वागत गर्नुभएको थियो । यद्दपी उहाँले आष्ट्राजेनेका र फाइजर अतिरिक्तको खोपको मिश्रणलाई लिएर विश्व स्वास्थ्य संगठन अध्ययन गरिरहेको र तात्काल मिश्रित डोज लिन सिफारिश गर्ने स्थितिमा नरहेको प्रष्ट्याउनुभएको थियो ।